काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकाे सन्दर्भमा छिमेकी भारतले नेपालको पछिल्लो राजनीतिक विकासक्रम नेपालको आन्तरिक मामिला भएको टिप्पणी गर्दै भारतले यसलाई नोट गरेको उल्लेख गरेको छ ।
संसद विघटन भएकाे चार दिनपछि भारतले यसलाई ‘नेपालले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिने आन्तरिक मामिला’ भनेको छ ।
बिहीबार दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘हामीले नेपालमा पछिल्लो राजनीतिक विकासक्रमलाई नोट गरेका छौँ ।
यी भनेका नेपालले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिने आन्तरिक मामिला हुन् । एउटा शुभचिन्तक र छिमेकीका रूपमा भारतले नेपाल र नेपालका जनतालाई विकास, समुन्नति तथा शान्तिको मार्गमा अगाडि बढ्न निरन्तर सहयोग गर्नेछ ।’ भारतले पहिलोपटक यस सम्बन्धमा धारणा सार्वजनिक गरेको हो ।
Leave a Reply