काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट भनिएका पूर्व माओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने आफ्नै निवासमा पूर्व समूहको भेला राखेका छन् ।
पार्टी फुटको संघारमा पुगेका बेला थापा बालुवाटरको बैठकमा नगाई आफैले भेला बोलाएका हुन् ।
आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरे लगत्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपल पक्षका ७ जना मन्त्रीहरुलले राजिनामा दिएका थिए ।
तर, पूर्व माओवादी खेमाका गृहमन्त्री थापा र उद्योग मन्त्री लेखराज भट्टले भने राजिनामा दिएका छैनन् ।
थापा र भट्लले राजीनामा नदिएपछि उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा उभिएको विश्लेषण गरिएको थियो।
सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएका थिए।
राष्ट्रिय सभा सदस्य रहेका बादल उक्त भेलामा जाने अनुमान गरिएको थियो। तर, उनी बालुवाटार नगई मन्त्रीक्वार्टर पुल्चोकमै बसेर भेलाको आयोजना गरेका हुन् ।
बादलको समूहमा अहिले पम्फा भुसाल र देव गुरूङसहित अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेको बताइन्छ।
Leave a Reply