काठमाडौं । आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति (रि-इन्ट्री) सुविधा लिन पाउने भएका छन् । यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्नेछन् ।
सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ । यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट-वेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ । विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट-वेसँग सम्झौता गरेको छ ।
आईएमई पे, ई-सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।
योसँगै विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता हट्ने वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि न्यौपानेले बताए । श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम रि-इन्ट्रीको सुविधा पाउनेछन् ।
Leave a Reply