काठमाडौँ । बहराइनले चीनले बनाएको कोरोनाभाइरसविरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको छ ।
चाइना नेसनल फर्मास्युटिकल ग्रुप(सिनोफार्म) ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्वान गरेको छ ।
आइतबार बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण(एनएचआरए) ले सिनोफार्मले बनाएको कोरोना खोपको प्रयोगका लागि अनुमति दिएको हो ।
एनएचआरएले सिनोफार्मले बनाएका दुई वटा कोरोना खोपमध्ये कुन खोपलाई अनुमति दिएको हो भन्नेचाहिँ खुलाएको छैन । तर तेस्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप ८६ प्रतिशत प्रभावकारी देखिएकाले प्रयोगको अनुमति दिइएको एनएचआरएले जनाएको छ ।
बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका नागरिकले कोरोना खोप लगाउन दर्ता गर्न सक्ने बताएको छ । बहराइनले नागरिकलाई कोरोना खोप नि:शुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
यसअघि यूएईमा गरिएको परीक्षणमा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता ८६ प्रतिशत देखिएको बताइएको थियो ।
Leave a Reply