काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध गर्ने भएको छ।
नेपालमा कोरोना शुरु भएपछि सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएको कांग्रेसले कोरोना महामारीमै सरकारविरुद्ध प्रदर्शनको प्रदर्शनको तयारी गरेको हो।
गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने बताएको थियो।
यसबाहेक कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न असफल भएकाले पनि विरोधमा उत्रिनु परेको जनाएको छ।
मंसिर २९ मा हुने देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ।
केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ भने शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ।
चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार
जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा
औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन
बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार जस्ता नाराहरु केन्द्रबाटै तय गरिएका छन्।
केन्द्रले तोकेकाबाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन।
यस्ता छन् कांग्रेसले तयार पारेका १० नारा
कुन नेता कहाँ जाँदैछन् ?
सभापति शेरबहादुर देउवा – हेटौंडा
वरिष्ठ नेता रामचन्द्र पौडेल – काठमाडौं
उपसभापति विमलेन्द्र निधि – भक्तपुर
महामन्त्री शशांक कोइराला – विराटनगर
कोषाध्यक्ष सीतादेवी यादव – ललितपुर
सहमहामन्त्री प्रकाशशरण महत – झापा
पूर्वउपसभापति गोपालमान श्रेष्ठ – काभ्रे
पूर्वमहामन्त्री प्रकाशमान सिंह – धनुषा
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला – महोत्तरी
चित्रलेखा यादव – सप्तरी
रामशरण महत – चितवन
अर्जुननरसिंह केसी – पोखरा
गगन थापा – कैलाली
प्रदीप पौडेल – कञ्चनपुर
एनपी साउद – अछाम
जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
Leave a Reply