Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नक्सा विवादकाे छलफल गर्न भारतीय परराष्ट्र सचिव आज आउँदै

    नक्सा विवादकाे छलफल गर्न भारतीय परराष्ट्र सचिव आज आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल भारत सम्बन्धमा चिसोपन आइरहेका बेला भारतीय परराष्ट्र सचिव हर्षवद्र्धन श्रृंगला दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

    नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल भारतबीच लामो समय संवादहीन अवस्था रहेको थियो । सीमा विवाद सुल्झाउन नेपालले भारतलाई पटकपटक आग्रह गरेको भए पनि भारतले त्यसलाई बेवास्ता गर्दै आएको थियो ।



    नेपालमा भारत विरोधी स्वरहरु चर्कोरुपमा उठ्न थालेपछि भारतले नेपालसँगको सम्बन्धमा सुधार ल्याउन आफ्ना तर्फबाट केही भारतीय कूटनीतिज्ञलाई औपचारिक तथा अनौपचारिकरुपमा नेपाल पठाउन थालेको थियो ।



    लामो समयको संवादहीन अवस्थालाई तोड्न भारतले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयललाई औपचारिकरुपमा नेपाल भ्रमण गर्न पठाएको केही दिनपछि नै भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपालको औपचारिक भ्रमण गरेका थिए ।

    ती दुई भारतीय उच्च अधिकारीहरुको नेपाल भ्रमणपछि विदेश सचिव श्रृंगलाले आजबाट दुई दिन नेपालको भ्रमण गर्न लाग्नुभएको हो । नेपालले नयाँ नक्सा जारी गरेपछि भारतमा नेपालको तीव्र विरोध भएको थियो भने भारतीय मिडियाले अतिरञ्जना गरेर नेपालको सार्वभौमिकतामाथि धावा बोल्ने कामसमेत गरेका थिए ।

    नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय विदेश सचिव श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलबीच दुई देशबीचको बहुआयामिक विषयमा छलफल हुनुका साथै नेपाल र भारतबीच नवीकरण हुनुपर्ने सन्धि–सम्झौताका बारेमा समेत छलफल हुनेछ ।

    यसपटक नेपाल भ्रमणमा आउन लाग्नुभएका श्रृंगलासँग नेपाली पक्षले कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा समेत कुरा उठाउने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । भारतले उक्त विवादित मुद्दाको विषयमा छलफल गर्न नचाहेको ती अधिकारीले जानकारी दिए ।

    यस पटकको बैठकमा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदनको बारेमा समेत छलफल हुने भएको छ । उक्त प्रतिवेदन बुझ्न भारतले इन्कार गर्दै आएको छ । प्रतिवेदन दुई वर्षदेखि अलपत्र परेको छ ।

    दुई देशका सचिवबीचको वार्ताले परराष्ट्रमन्त्रीस्तरीय वार्ताको मिति तय गर्ने भएको छ भने सीमा विवादलाई सल्ट्याउन पनि कुनै संयन्त्र बनाउने प्रस्ताव नेपालले राख्ने भएको छ ।

    नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी ओलीलगायतका अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ ।

    नेपाल भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचनसमेत दिनुहुने भएको छ । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसलन अफेयर्सले आयोजना गर्ने कार्यक्रममा सचिव श्रृंगलाले दुई पक्षीय सम्बन्ध र साझेदारीका विषयमा सम्बोधन गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार