Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • प्रधानमन्त्री पद जोगाउन काँग्रेसको साथ पाए ओली अर्लि इलेक्सनमा

    प्रधानमन्त्री पद जोगाउन काँग्रेसको साथ पाए ओली अर्लि इलेक्सनमा

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेकपाको आन्तरिक विवाद पार्टी विभाजनसम्म पुग्ने भएको छ । पार्टी सचिवालयमा पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्ताबमा प्रमणित हुन नसक्ने धेरै कुराहरु पेश गरेपछि एकै पार्टीमा दुई नेता बस्न नसक्ने अबस्था बनेको हो ।

    नेकपा सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिब एक दर्जन प्रमाणित नै हुन नसक्ने अभियोगसहित प्रस्ताव प्रस्तुत गरेपछि अर्का अध्यक्ष केपी शर्मा ओलीले आगामी १३ मंसिरमा जवाफी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम बनाएका छन् ।



    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पुष्पकमल दाहाललाई आफुले पेश गरेको प्रस्ताव प्रमाणित गर्न चुनौति दिएका छन् । प्रमाणित गर्न नसके दाहालले पदबाट राजिनामा दिनु पर्ने पार्टी अध्यक्ष ओलीले केही दिनअघि बताएका थिए ।



    पार्टी अध्यक्ष ओलीले सकेसम्म संसदीय दलमा बहुमत पु-याउने, दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेर नयाँ दल बनाउने र संसद् विघटन गर्ने वा काँग्रेसको सहमतिमा अर्लि इलेक्सनमा जानेसम्मको विकल्पमा परामर्श गर्दै आएका छन् ।

    संविधानमा मुलुक मध्यावधिमा जान नसक्ने व्यवस्था भए पनि अर्ली इलेक्सनमा जान कुनै बाधा पारेको छैन । किनभने ओली नेतृत्वको सरकारले करीब तीन वर्ष पार गरिसकेको छ भने अबको दुई वर्षभित्र निर्वाचन गराउनै पर्छ ।

    त्यसैले एक वर्षभित्र निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनमा जाने विषयमा पनि प्रधानमन्त्री ओलीले परामर्श गरेका हुन् ।

    निर्वाचनमा जाने तयारीले ओलीलाई संसदीय दलमा बहुमत सिद्ध गर्न सहयोगी हुनेछ, त्यसो हुँदा ओलीको प्रधानमन्त्री पद सुरक्षित हुनेछ । तर, दलमा बहुमत नपुग्ने अवस्थामा उनले नयाँ दल सिर्जना गर्ने पक्कापक्की छ, जसका लागि उनले नयाँ गठबन्धन बनाउनुपर्नेछ ।

    त्यसैले प्रधानमन्त्री ओलीले नेपाली काँग्रेससँग सहकार्यका लागि प्रस्ताब अगाडी बढाएका छन् ।

    शनिबार संवैधानिक आयोगमा नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए ।

    देउवाले आफूसँगै रमेश लेखकलाई पनि लगेका थिए, खासमा कानुनी विषयमा पनि सहयोग पुग्छ भनेर देउवाले लेखकलाई लिएर हिँड्ने गरेका छन् । ओली र देउवाबीचको त्यो भेटघाटको समाचारले राजनीतिमा ठूलै तरंग पैदा गरेको छ ।

    कांग्रेस स्रोतका अनुसार करिब डेढ घन्टा सामयिक राजनीति, संवैधानिक आयोग र विश्वविद्यालयसहितका विषयमा छलफल सकिएपछि देउवा र ओलीको अलगै भेटघाट भएको थियो ।

    काँग्रेस सभापति देउवासँगको भेटघाटको सन्देशले प्रधानमन्त्री ओलीलाई संसदीय दलमा बहुमत जुटाउन सहज मात्र हुने छैन पार्टीभित्रका प्रतिपक्षी नेताहरुलाई झुकाउन सहज हुने अनुमान पनि गरिएको छ ।

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हतारमा ट्वीट गरेर प्रतिक्रया जनाएका छन् । नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने उनको प्रतिक्रिया थियो । शनिबार बालुवाटारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेट सार्वजनिक भएपछि शर्माको प्रतिक्रिया आएको हो ।

    भेटमा प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव राखेको सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भए लगत्तै नेपाली काँग्रेसका प्रवक्ता शर्माले कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको बताएका छन् ।

    पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

    पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौँ, रहनेछौँ । नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौँ । अतः यता या उताको जोड–घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौँ विश्वप्रकाश शर्माले ट्वीट गर्दै लेखेका छन्,तरुण साप्ताहिकमा खबर छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार