जाजरकोट । भेरी करिडोरअन्तर्गत छेडा– खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माण भएको सडक डिभिजन सुर्खेतका प्रमुख विजयकुमार थापाले जानकारी दिए । पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा भत्किएका सडक मर्मतका लागि बोलपत्र आह्वान गरिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।
छिन्चु–जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकैसाथ दर्जन पुल निर्माण सम्पन्न भएसँगै सडक डिभिजन कार्यालय चौरजहारीले छेडाबाट खलङ्गासम्मको दर्जन ठाउँमा भत्किएको सडक निर्माणका लागि प्रक्रिया शुरु गरेको हो । भेरी करिडोरअन्तर्गत छेडा–खलङ्गा सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्शन जेभीले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका छ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन छ वटा पुल निर्माण भएका हुन् । दुई चरणमा मर्मत गर्नका लागि काम शुरु गर्न लागेको डिभिजन प्रमुख भट्टले जानकारी दिए ।
सडक सञ्चालनमा आएको लामो समयपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण अगाडि बढेको छ । नलगाडको झुर्मेखोलामा मोटरेबल पुल निर्माण पूरा भइसकेको छ । नलगाड नदीमा काम शुरु गर्न लागिएको छ । यस सडकखण्डको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सात वटा मोटरेबल पक्की पुलको लागि बोलपत्र आह्वान भई काम शुरु भएको डिभिजनका प्रमुख भट्टले बताए। उनका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाडखोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए ।
त्यस्तै डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ, छलगाड र करपगाडमा पनि मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रमुख भट्टको भनाइ छ । एक वर्षभित्र निर्माण पूरा हुने उद्देश्यका साथ ठेक्का खोली कामको शुरुआत गरिएको छ । सडक निर्माण शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि सडक कालोपत्रको काम शुरु गरिएको छ । अहिले रिम्नासम्म कालोपत्र गर्नका लागि कच्ची कटान गरी ग्रेट मिलाउने काम भएको छ ।
यो सडक भारतको रुपैडिया र चीनको मरिम्ला धो जोड्ने मुख्य रणनीतिक सडक हो । पुल नहुँदा यातायात सञ्चालनमा निकै कठिन भइरहेको छ । पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालनमा सहजता आउने स्थानीयवासीको भनाइ छ ।
पाँच वर्षअघि कालोपत्र भएको यहाँका सडकमा पुल नहुँदा खोलामा यात्रामा अवरोध हुँदै आएको थियो । नलगाड जलविद्युत् आयोजना, ताँसुगाड जलविद्युत् आयोजना र डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागिसमेत सघाउ पुग्ने छ ।
त्यस्तै भेरी ‘ए’लगायतका आयोजनाको डिपिआरको कामका लागि सामग्री ल्याउन सजिलो भएको छ । त्यस्तै पश्चिम छेडाबाट जुनिचाँदे गाउँपालिका र कालीमटी–लिम्सासम्म यातायातका साधन सञ्चालनका लागि यातायात व्यवस्था विभाग कर्णाली प्रदेशले स्वीकृती दिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । केही ठाउँमा मर्मत गर्नुपर्ने टिप्पणीसहित यातायात सञ्चालनका लागि अनुमति दिइएको छ । अनुमति दिएसँगै नयाँ भाडादर कायम गरिएको छ । मध्यपहाडी लोकमार्गको काममा समेत सहजता आएको छ । रासस
Leave a Reply