काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले तेस्रो जित हात पारेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई उसैको मैदानमा २–० ले पराजित गरेको हो । अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको हो ।
पेरुको मैदानमा भएको खेलको १७औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेटिनालाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन ।
छनोट चरणमा अपराजित यात्रा कयाम राखेको अर्जेन्टिना ४ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेनटिना बाहेक ब्राजिल र पाराग्वे पनि छनोटमा अपराजित रहेको छ ।
लगातार चौथो जित हात पार्ने क्रममा उरुग्वेलाई २–० ले पराजित गरेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ ।
Leave a Reply