काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
यता, बुधबार दिउँसो १ बजेलाई नेकपाको सचिवालय बैठक बोलाइएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो १ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।
उनका अनुसार बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेचाहिँ अझै तय भने भएको छैन ।
यद्यपी प्रधानमन्त्री ओलीले भने मंगलबार राति मन्त्रीहरुलाई बुधबार १ बजे बैठक बोलाइएको जानकारी गराउन लगाएका थिए ।
कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने तय भएको थियो ।
तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए। सोही प्रयास स्वरुप प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएको आँकलन नेकपाकै नेताहरुले गरेका छन् ।
हुनत अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ पुगेका थिए भने दाहालले पनि हिजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
पौडेलसँगको भेटमा दाहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेका थिए ।
Leave a Reply