काठमाडौँ । दुई अध्यक्षलाई मिलाउन बालुवाटार–खुमलटार–बालुवाटार गरिरहेका नेकपा महासचिव विष्णु पौडेलले मंगलबार आफ्ना निकटस्थहरूलाई सुनाए, ‘उहाँहरू दुवै जना हतारोमा हुनुहुन्छ, परिस्थिति जटिल छ ।’
त्यसपछि महासचिवसहित बसेको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूको बैठकले बुधबारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित गर्न ओलीलाई सुझाव दियो । ओलीको चाहना पनि तत्कालका लागि बैठक रोकौं नै भन्ने हो ।
महासचिव पौडेल मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए । भेटमा उनले दाहालले गत सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने र बुधबारका लागि तय भएको सचिवालय बैठक रोकेर दुई अध्यक्षले छलफल चलाउनुपर्ने ओलीको प्रस्ताव सुनाए । दाहालले बैठक तोकिएकै समयमा बस्ने र सबै निर्णय बैठकबाटै हुने जवाफ दिएपछि महासचिव पौडेलसहित ओलीनिकट नेताहरू परामर्शमा जुटे । उक्त छलफलमा ओलीनिकट नेताहरूले यही परिस्थितिमा बैठक बस्न नसकिने निचोड निकालेका छन् ।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्षद्वयबीच देखिएको संवादहीनताका कारण तत्काल सचिवालय बैठक बोलाउने स्थिति नभएकाले केही दिनका लागि स्थगित गर्न सुझाव दिएको जानकारी दिए । ‘भोलि बैठक बस्ने स्थिति बनाउनुभएको छ भने त केही भएन तर तपाईंहरूको छलफलको स्थिति हेर्दा तयार छ जस्तो लाग्दैन,’ ओलीलाई दिएको सुझाव उद्धृत गर्दै नेम्वाङले कान्तिपुरसँग भने, ‘यस्तोमा बैठक बस्दा झन् विवाद चर्किएला, त्यसैले स्थिति चर्काउनभन्दा कुलडाउन हुन दिनु राम्रो हो । आवश्यक समय लिनुपर्छ, भोलिको बैठक स्थगित गर्नुस्, केही समय लिएर आवश्यक छलफल गरी ल यसो गरौं भनेर टुंगोमा पुग्नुबाहेक अर्को विकल्प छैन भनिएको छ ।’ दुवै अध्यक्षले सरसल्लाह गर्ने जानकारी दिएको नेम्वाङले बताए । कान्तिपुर दैनिक बाट
Leave a Reply