Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेकपा संकट : दाहालको प्रस्तावमा छलफल चलाउने कि फिर्ता गर्ने ?

    नेकपा संकट : दाहालको प्रस्तावमा छलफल चलाउने कि फिर्ता गर्ने ?

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । २०७४ फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’ थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपसमा रातो गुलाफ साटासाट गरेर प्रेम व्यक्त गरे । त्यही दिन ललितपुरको मानभवनस्थित एक घरमा तत्कालीन एमाले र माओवादीको संयुक्त बैठक बस्यो ।

    बैठकमा ओलीलाई प्रधानमन्त्री बन्न माओवादीले समर्थन गर्ने र जतिसक्दो छिटो पार्टी एकीकरण गर्ने सहमति भयो । चुनावी तालमेललाई नै वाम एकताको आधार बनाएका तत्कालीन एमाले–माओवादीले त्यही दिनलाई नै पार्टी एकीकरणको ‘माइलस्टोन’ मानेका थिए । त्यही साल फागुन ५ देखि जेठसम्म ओली र दाहालबीच पार्टी एकताका लागि गम्भीर संवादहरू भए ।



    त्यसअघि कहिले संसद्मै र कहिले पार्टीका कार्यक्रममा एकअर्काविरुद्ध कटाक्ष र रुखो टिप्पणी गर्दै आएका ओली–दाहालले आपसी सम्बन्धलाई बलियो बनाउँदै लगे । २०७५ जेठ ३ गते यी दुईले नेतृत्व गरेको पार्टी एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । एकले अर्काको नेतृत्व स्वीकार्न सक्ने अवस्था नआउँदा ओली र दाहाल दुवै पार्टी अध्यक्ष बने । एउटा पार्टीको दुई जना अध्यक्ष हुने नौलो परम्परा सुरु गरेको नेकपाका अध्यक्ष ओलीले पार्टी एकताकै दिन भनेका थिए, ‘हामी ठूलो जेटका दुई पाइलट हौं । कसैलाई लाग्ला दुइटा अध्यक्ष भए के गरेको भनेर, टेम्पु चलाएको जस्तो होइन, ठूलो जेटमा दुइटा पाइलट चाहिन्छ ।’



    उनै दुई अध्यक्षबीचको तिक्तता अधिकतम बिन्दुमा पुगेपछि अहिले नेकपा एकता दुई हिउँद पूरा नहुँदै संकटमा परेको छ । करिब ८ लाख कार्यकर्ता र दुई तिहाइ मतदातालाई सम्हाल्नुपर्ने दायित्व भएका शीर्ष नेताहरू लिखित रूपमै आपसमा पोल खोलाखोल गर्न थालेपछि नेकपाकै कतिपय नेताहरू अब पार्टी एकता अघि बढ्न नसक्ने निचोडमा पुगेका छन् । केन्द्रीय सदस्य विशाल भट्टराई शीर्ष नेताहरूको ध्याउन्न सत्ताकै वरिपरि भएकाले पार्टी गम्भीर संकटमा परेको टिप्पणी गर्छन् । ‘पार्टी र सरकारको सत्ता कसले लिने भन्ने विवाद चुलिएर अहिले एकता नै संकटमा पर्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको सफलतालाई आफ्नो असफलता देख्ने पार्टीका सिनियर कमरेडहरूकै कारण समस्या आएको हो ।’ भट्टराईले ओलीले लेखेको पत्रको जवाफी पत्रका रूपमा आएको दाहालको ‘आरोपपत्र’ फिर्ता नभए पार्टी फुट्न कुनै बेर नै नलाग्ने बताए । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार