काठमाडाैँ । कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । हाल बेलायत, अमेरिका, चीन र रुसले कोरोनाको खोप बनाएर तेस्रो चरणको परीक्षण गरिरहेका छन् । तेस्रो चरण सफल भइसकेपछि ती खोप ल्याउन नेपालले तयारी थालेको हो ।
नेपाल विश्वव्यापी खोप सुविधा पाउने ‘कोभाक्स’ मा सामेल भएकाले विश्व बजारमा खोप आउनासाथ नेपालीले प्रयोग गर्ने गरी ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोना खोपको ओसारपसार, भण्डारण, कोटेसन, लगानी र खोप लगाउने स्वास्थ्यकर्मीबारे गृहकार्य सुरु गरेको छ । खासगरी खोपको कोल्ड चेनलाई लिएर तयारी सुरु भएको हो । ‘प्रदेशहरूलाई पनि सबै तयारी गर्न भनिएको छ । विशेष रूपमा खोपको ढुवानी र भण्डारणबारे काम गर्नुपर्नेछ किनभने यो धेरै न्यून तापक्रममा भण्डारण गर्नुपर्छ ।
खोप धेरै ताप संवेदनशील रहेको कुरा आइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘भ्याक्सिन कहिलेबाट बजारमा आउँछ र प्रयोग सुरु हुन्छ भन्ने निश्चित नभए पनि केही समयमा आउँछ । कोभाक्समा हामीले एप्लाइ गरेका छौं, त्यहाँबाट हामीले पनि खोप पाउँछौं ।’
कोभाक्स एउटा यस्तो प्रणाली हो, जसको माध्यमले गरिब र धनी सबै मुलुकमा प्रभावकारी रूपमा खोप पाउने सुनिश्चित गरिन्छ । विकसित र अन्य दाताले आर्थिक स्रोत दिने र गरिब मुलुकले पनि रकम योगदान गर्ने गरी कोभाक्सको धारणा ल्याइएको हो । कोभाक्सले अल्पविकसित र अविकसित मुलुकले खोप पाउने सुनिश्चित गरेको औंल्याउँदै डा. अधिकारी भन्छन्, ‘कोभाक्सअन्तर्गतका सबै मुलुकले समानुपातिक रूपमा कोभिडको खोप पाउनेछन् । यो खोप अनुदानमा पनि आउँछ, यसका लागि अत्यन्त कम मूल्य तिनुपर्छ ।’
उनका अनुसार हाल स्वास्थ्य मन्त्रालयले कोभाक्ससँग समन्वय गर्दै भविष्यमा आमनेपालीलाई कोभिड खोप उपलब्ध गराउन सहकार्यको तयारी गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले माघ महिनापछि नेपालमा समेत खोप आउने अनुमान गरेको अनौपचारिक रूपमा बताए । यसैअनुसार भण्डारण, ढुवानी, तालिम प्राप्त स्वास्थ्यकर्मी आदिको तयारी अघि बढाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार मुलुकमा सबैलाई कोभिडको खोप लगाउँदा करिब ६० अर्ब लाग्ने देखिएको छ । सरकारले हालसम्मको विश्लेषणअनुसार करिब ७० प्रतिशत नेपालीलाई खोप आवश्यक हुने आकलन गरेको छ ।
‘हामीलाई करिब दुई करोड १० लाख जनालाई पुग्ने खोप आवश्यक छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय ‘बाल स्वास्थ्य तथा खोप शाखा’ का प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘यो मात्राको खोप एकैपटक नभए पनि विभिन्न चरण गरी मुलुकमा ल्याउनुपर्नेछ ।’
कोभाक्स सुविधाअन्तर्गत हाल १० वटा खोप छन् । तिनलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नजिकबाट हेरिरहेको छ । यी खोप निर्माताहरू डब्लूएचओसँग आफ्नो क्लिनिकल ट्रायलको परिणाम आदानप्रदान गर्छन् । कोभाक्स सुविधाअन्तर्गत मुलुकको कुल जनसंख्याको २० प्रतिशतलाई कोभिडको खोप दिने भनिएको छ । यसअन्तर्गत सुरुमा कुल जनसंख्याको तीन प्रतिशतका लागि कोभाक्सअन्तर्गत खोप पाइने कुरा भएको छ । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।
Leave a Reply