काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको सुरक्षाका लागि काठमाडौँमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत काठमाडौं आएका नरवणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन गरिएको हाे ।
सडकमा सादा पोशाक र बर्दीमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ ।नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा उनी आएका हुन् ।
नेपाल र भारतबीच एकअर्को देशका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । त्यहीअनुसार नरवणे आउन लागेका हुन् । प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरेका थिए ।
यस्तो कार्यक्रम विगतमा सामान्य औपचारिकतामा सीमित रहने गरेको थियो तर केही महिनादेखि नेपाल–भारत सीमालाई लिएर कायम विवाद र नरवणे आफैंले दिएको नेपालसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई काठमाडौं र दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।
नेपाली सेनाका अनुसार भ्रमणको पहिलो दिन अर्थात् बुधबार कुनै औपचारिक कार्यक्रम राखिएको छैन । बिहीबार भने नरवणे दिनभर नै व्यस्त रहनेछन् । बिहान सैनिक मञ्चस्थित वीर स्मारक र सहिद गेटमा माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसपछि नरवणेले भद्रकालीस्थित जंगीअड्डामा नेपाली सेनाको एउटा टुकडीको सम्मान गारदको निरीक्षण गर्नेछन् । जंगीअड्डामै प्रधानसेनापति थापा र नरवणेबीच औपचारिक भेटवार्ता हुनेछ । त्यसपछि नरवणेले नेपाली सेनाका उच्च अधिकृतहरूसँग सक्षिप्त अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यसपछि द्विपक्षीय रक्षा सहयोग कार्यक्रमअन्तर्गत एउटा फिल्ड अस्पतालका लागि एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको नेपाल सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।
Leave a Reply