Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौं आइपुगे

    भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौं आइपुगे

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2.9K
    SHARES

    भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे

    काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ ।

    भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आएका हुन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा उनी आएका हुन् ।



    नेपाल र भारतबीच एकअर्को देशका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । त्यहीअनुसार नरवणे आउन लागेका हुन् । प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरेका थिए ।



    यस्तो कार्यक्रम विगतमा सामान्य औपचारिकतामा सीमित रहने गरेको थियो तर केही महिनादेखि नेपाल–भारत सीमालाई लिएर कायम विवाद र नरवणे आफैंले दिएको नेपालसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई काठमाडौं र दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।

    नेपाली सेनाका अनुसार भ्रमणको पहिलो दिन अर्थात् बुधबार कुनै औपचारिक कार्यक्रम राखिएको छैन । बिहीबार भने नरवणे दिनभर नै व्यस्त रहनेछन् । बिहान सैनिक मञ्चस्थित वीर स्मारक र सहिद गेटमा माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसपछि नरवणेले भद्रकालीस्थित जंगीअड्डामा नेपाली सेनाको एउटा टुकडीको सम्मान गारदको निरीक्षण गर्नेछन् । जंगीअड्डामै प्रधानसेनापति थापा र नरवणेबीच औपचारिक भेटवार्ता हुनेछ । त्यसपछि नरवणेले नेपाली सेनाका उच्च अधिकृतहरूसँग सक्षिप्त अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यसपछि द्विपक्षीय रक्षा सहयोग कार्यक्रमअन्तर्गत एउटा फिल्ड अस्पतालका लागि एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको नेपाल सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार