काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएपछि आफन्तहरुले अस्पताल घेरेका छन् ।
अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गर्दै अस्पताल घेरेका हुन् ।
गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । उनलाई डा. अनुपा थापाले जाँच गरेकी थिइन् ।
अस्पतालको लापर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेट अगाडि जम्मा भएर विरोध जनाएका छन् ।
डाक्टरले कात्तिक ८ गते सुत्केरी हुने मिति तोकेपनि मिति सार्दै १३ गते बोलाइएको आफन्तले जनाएका छन् ।
यता अस्पतालले भने उपचारमा लापरवाही नभएको जनाएको छ । बुधबार बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको तर, केही समयमा महिलालाई श्वास प्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको अस्पतालको भनाई छ ।
Leave a Reply