काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएसँगै यो वर्षको नवारात्रीमा शक्तिपीठहरु नखुल्ने भएका छन् ।
बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।
शक्तिपीठ खुला गर्दा कोरोना झनै बढ्न सक्ने र स्वास्थ्य मन्त्रालयको समेत चासो देखाएको तथा मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको गृहले जनाएको छ ।
असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव पठाएको थियो ।
भोली अर्थात कात्तिक १ गतेदेखि नवरात्री शुरु हुँदैछ । यसअघि भोलीबाट नै शक्तिपीठ खोल्ने तयारी भइरहेको बताइएको थियो ।
गृहले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले अर्को निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन दिइएको छ ।
Leave a Reply