काठमाडौं । गोर्खा बु्रअरीले मापदण्ड नपु-याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ ।
खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरिएको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । ती बियर मापदण्डविपरीत र स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले बियरका रूपमा बजारमा बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।
विभागले वर्गीकरणमार्फत ती बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ । कोरोना महामारीको मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्न थालेकाले कडा कारबाही गर्नुपर्ने माग आम उपभोक्ताको छ । उपभोक्ताले गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन समेत सरकारसँग माग गरेका छन् ।
बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ तर गोर्खा ब्रुुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी उपभोक्तालाई ठगिरहेको विभागका अधिकारीले बताएका छन् ।
– लोकल रक्सीको दर्जामा पर्ने गरी वर्गीकरण
– विभागद्वारा कारबाही
– महामारीको मौका छोपी अकुत नाफा कमाउन उद्यत
– गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन माग
गोर्खा ब्रुअरीले उत्पादन गरेका काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगमा सचेतता अपनाउनसमेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।
‘गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई छक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी हो । हामी गम्भीर रूपमा छानबिन गरिरहेका छौं,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले राजधानीसँग भने ।
विभागका ती अधिकारीका अनुसार गोर्खा ब्रुुअरीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेको छ । बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरवाही भएको जिकिर कम्पनीले गरे पनि कम्पनीको स्वीकृत र आदेशबेगर यस्तो हुन नसक्ने ठहर गरिएको छ । उसले अहिले कानुनी रूपमा बच्न विभिन्न बहानाबाजी गरिरहेको छ तर उम्कन सक्ने अवस्था भने नरहेको विभागका अधिकारीको भनाइ छ ।
लकडाउनका बेला अनुुगमन नहुने र दसैंको समयमा अकुुत रूपमा नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि खेलबाड गरेको एक विज्ञले बताए ।
अन्तःशुल्क लाग्ने मदिरा, चुरोट वा सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ ।
आन्तरिक राजस्व विभागले एक हप्ता कम्पनी नै बन्द गराएर अध्ययन गरेपछि गोर्खा बु्रअरीको बदमासी सार्वजनिक भएको हो । मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको छ ।
आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । गोर्खा ब्रुुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कारबाहीमा उत्रेको हो । मापदण्डविपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ ।
विभागका उपमहानिर्देशक शिवादेवी दाहालले माल्ट ५० प्रतिशतभन्दा कम भएपछि ऐनकोे २२०६.००.९० अनुसार प्रतिलिटर ४ सय ३० रुपैयाँ तिर्नुुपर्ने बताइन् । गोर्खा ब्रुुअरीका केही ब्रान्डमा समस्या रहेमा सोहीअनुुरूप कारबाही हुने उनले जानकारी दिइन् । विभागले सबै कार्यालयलाई सोहीअनुसार गर्न परिपत्र गरेको उपमहानिर्देशक दाहालले बताइन् ।
बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्यसरहको अन्तःशुल्क तिर्नुपर्ने गोर्खा ब्रुुअरीलाई निर्देशनसमेत दिएको हो ।
विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यतासमेत दिएको छैन । राजधानी दैनिकबाट
Leave a Reply