Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौंमा कोरोना आतंक, एकैदिन संक्रमितमध्ये ५५-६० प्रतिशत उपत्यकाभित्रका मात्रै

    काठमाडौंमा कोरोना आतंक, एकैदिन संक्रमितमध्ये ५५-६० प्रतिशत उपत्यकाभित्रका मात्रै

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं। कोरोना भाइरसका संक्रमितको संख्या पछिल्ला साताहरूमा क्रमश: वृद्धि हुँदै शुक्रवार अहिलेसम्मको सर्वाधिक देखिनु निकै चिन्ताजनक अवस्था भएको विज्ञहरूले बताएका छन्।

    शुक्रवार १४,७४९ व्यक्तिको पीसीआर परीक्षण गर्दा २,७२२ अर्थात् परीक्षण गरिएकामध्ये करिब १९ प्रतिशत सङ्क्रमित दर देखियो।



    अहिले चिन्ताजनक देखिएको यो अवस्था हिउँदको अन्त्यसम्म जारी रहने सम्भावना रहेकोले सरकारले ढिला नगरी नियन्त्रणका थप उपाय अपनाउनुपर्ने जनस्वास्थ्यविज्ञ तथा ह्याम्स अस्पतालमा कार्यरत डा. किरणराज पाण्डेले बताए।



    संक्रमितको अहिलेको अवस्थाले समुदाय स्तरमा तीव्र गतिमा संक्रमण फैलिरहेको र नियन्त्रणका लागि जनस्वास्थ्य स्वास्थ्य सङ्कटकाल लागु गर्न ढिला भइसकेको स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा.सुरेश तिवारी बताउँछन्।

    विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार परीक्षण गरिएका संख्या मध्ये ३ देखि १२ प्रतिशतमा संक्रमण देखिए त्यसलाई सामान्य अवस्थाकै रूपमा हेर्नुपर्ने उनीहरू बताउँछन्।

    तर त्योभन्दा बढी देखिए नियन्त्रणका लागि थप प्रयास गर्नुपर्ने जनाउ दिने भन्दै अहिले हामी केही सातायता त्यही अवस्थामा रहेको डाक्टर तिवारी बताउँछन्।

    त्यो पनि जनघनत्व बढी भएका कारण मानिसको आवातजावत बढ्ने काठमाडौं उपत्यकामा मात्रै शुक्रवार ६० प्रतिशत र शनिवार ५५ प्रतिशत सङ्क्रमित देखिएकाले सरकारले तत्काल जनस्वास्थ्य सङ्कटकाल लागु गर्नुपर्ने र कोरोनाभाइरससम्बन्धी सामाजिक संहिता लागु गर्नुपर्ने उनी बताउँछन्। बिबिसीका अनुसार 

    कोरोना भाइरसबाट मानिसको हिँडडुल धेरै हुने दशैँ, तिहार, छठजस्ता चाडबाडले पनि सङक्रमित बिरामीको सङख्या बढ्नेछ।त्यसबाहेक जाडो महिनामा कोरोनाभाइरसका लक्षणसँग मिल्दाजुल्दा रुघा, खोकीलगायत स्वाशप्रस्वाशसम्बन्धी समस्या भएका बिरामी बढ्ने हुँदा नियन्त्रणका लागि निकै चुनौती रहेको छ।

    अन्य थुप्रै देशमा जस्तो मृत्युदर नेपालमा नभएको पक्ष सकारात्मक रहेको भन्दै विगतका गल्ती नदोहोर्‍याइ अबको समय प्रभावकारी रूपमा नियन्त्रण र रोकथामका लागि प्रयोग गर्नुपर्ने उनले बताए।

    ‘जनस्वास्थ्य सङ्कटकाल लागु गर्‍यो भने सेवा प्रदायक निजी र सरकारी अस्पताल एकै ठाउँमा आउँछन्। कोभिडसम्बन्धी सामाजिक संहिता जारी गर्‍यो भने त्यसले जनमानस भेला हुने प्रत्येक ठाउँहरूमा सुरक्षा सतर्कता थप बलियो बनाउँछ र निषेधाज्ञा वा लकडाउनकै बीच पनि मानिस सुरक्षित हुन्छन्। तर यी सुझाव सरकारले सुनेको छैन,’ डाक्टर तिवारीले भने।

    त्यो सँगसँगै नियम पालना नगर्ने संस्था वा व्यक्तिलाई कानुनी दायरामा ल्याउने खालको व्यवस्था पनि हुनुपर्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार