काठमाडौं । सन् २००० कि मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् ।
उनले आफ्नो फेसबुकमा स्टेटस लेख्दै पति एवम् सञ्चारकर्मी जीपी तिमिल्सिनासँगको बैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको जनाकारी गराएकी हुन् ।
उक्त स्टेटसमा उनले एक टेलिभिजनसँगको कुराकानीको भिडियो फुटेज पनि राखेकी छन् । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् ।
उनले भनेकी छन्–‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो,।’
जीपी र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो भने २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो ।
अन्तर्जातीय विवाह भएका कारण पनि उनीहरुको सम्बन्ध पहिलेदेखि नै खासै राम्रो नभएको नजिकका आफन्तहरु बताउँछन् ।
नेपाल टेलिभिजनमा प्रशारण हुने एक कार्यक्रम सञ्चालनका क्रममा नजिकएका उनीहरूकाे १७ वर्षअघि विवाह भएको थियो । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन् ।
Leave a Reply