Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • शर्तसहित नेपालमा पदयात्रा र पर्वतारोहण खुला

    शर्तसहित नेपालमा पदयात्रा र पर्वतारोहण खुला

    अनलाइन नेपाल
  • मंगलबार, १३ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले आउँदो १ कात्तिकदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार अब नेपालमा विदेशी पर्यटक आउन पाउनेछन्। यो निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ।

    यो मापदण्ड अनुसार पर्यटकले एक साताको होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने, ७२ घण्टा अगाडिको कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने र नेपाल आउनकाे लागि प्राप्त गरेको भिसा वा पूर्वस्वीकृति कागजान चाहिने व्यवस्था गरेको छ।



    मापदण्डमा कोरोना सम्बन्धी प्रयोजनको लागि कम्तिमा प्रतिव्यक्ति पाँच हजार अमेरिकी डलर (करीब रू. ६ लाख)को बीमा गरिएको हुनुपर्ने व्यवस्था छ। होटल क्वारेन्टिनमा बसेका पर्यटकले पाँचौ दिनमा आफ्नै खर्चमा कोरोना परीक्षण गराउनुपर्नेछ।



    पर्यटक नेपाल आउनुअघि नै भिसा प्राप्त गरेको हुनुपर्ने, भिसा उपलब्ध नभएको अवस्थामा नेपालको ट्राभल तथा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थासहितको नयाँ मापदण्ड पर्यटन मन्त्रालयले जारी गरेको हाे। पर्यटन मन्त्रालयले ९ असोजमा यस्तो मापदण्ड स्वीकृत गरेर कार्यान्वयनको लागि सम्बन्धित ट्राभल, ट्रेकिङसहितका निकायलाई जानकारी गराएको छ।

    मापदण्डमा हाेटल क्वारेन्टिनमा बसेकाे पर्यटककाे काराेना पोजिटिभ देखिए पुनः नेगेटिभ रिपोर्ट नआएसम्म होटल क्वारेन्टिनमै बस्नुपर्ने व्यवस्था तय गरेकाे छ। मापदण्डमा पर्वतारोहण वा पदयात्रामा जाने नेपाली टोलीकाे पनि अनिवार्य रूपमा कम्तिमा रू. १ लाखको कोरोना बीमा गराउनुपर्ने, स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ।

    पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार मापदण्ड तय भएपनि व्यवसायीसँगको छलफलबाट थप सहजीकरण गर्नुपर्ने भएकोले बताउँछन्। भट्टराईका अनुसार पर्यटक नेपाल आउन र घुमघाममा सहजीकरण गर्ने र महामारीबाट पनि बच्नुपर्ने भएकोले सोही अनुसारको छलफल अझै बाँकी रहेकाले मापदण्ड औपचारिक रूपमा जारी हुने भने बाँकी रहको छ। पर्यटन व्यवसायीलाई मापदण्डमा सुझाव दिन मात्रै पठाइएको उनको भनाइ छ।

    ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले भने मन्त्रालयले जारी गरेको मापदण्ड व्यवसायीले स्वीकार नभएको बताए। उनले भने पर्यटक आएपनि सहजीकरण गर्ने र व्यवहारिक बनाउने विषयमा छलफल हुनुपर्नेछ।

    पर्यटन व्यवसायीले पर्यटक आउँदा विमानस्थलमै पीसीआर गर्ने र २/३ घण्टामै रिपोर्ट आउने व्यवस्था मिलाउनुपर्ने, क्वारेन्टिन बस्नुपर्ने अवधि तीन दिन मात्रै गर्नुपर्ने माग गरिएको सुवेदी बताउँछन्।

    सुवेदी भन्छन्, ‘‘कोरोना पोजिटिभ देखिए पर्यटकलाई उपचार गर्ने अस्पताल तोकिनुपर्ने, पदयात्रामा वा पर्वतारोहणमा गएका पर्यटकलाई पनि स्थानीयस्तरमा पालना गर्नुपर्न मापदण्ड तय गर्नुपर्नेसहितको माग गरिएको छ।

    व्यवसायीले पर्यटकलाई कोरोना पोजिटिभ देखिए कन्ट्याक्ट ट्रेसिङ सहज बनाउन ट्राभल तथा ट्रेकिङको बुकिङ अध्यागमनमा अनिवार्य राख्नुपर्ने व्यवस्था गर्न पनि माग गरेका छन्। व्यवसायीले पर्यटक ल्याउन सरकारले तोकेको मापदण्ड पालना गर्न तयार भएको भएपनि सक्नेजति सहजीकरण गर्ने र पर्यटक आकर्षित गर्ने वातावरण भने बनाउनुपर्ने बताएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार