चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीहरू सबै एकै ठाउँमा हुने प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले माओवादीहरूमात्रै नभई समाजवादी मोर्चालाई पनि एउटै केन्द्र बनाउने प्रयास भइरहेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘माओवादीहरूलाई एकताबद्ध गर्न के गर्नुपर्छ, सके जति सबै गर्छु मैले, माओवादीमात्रै होइन, पर्सि समाजवादी मोर्चाको कार्यक्रम हुँदैछ । त्यसलाई पनि एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ ।’
उनले अहिले विद्यार्थी चुनावमा कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठनहरू मिल्दा पनि क्रान्तिकारीले सखाप पार्न सफल भएको बताए ।
कांग्रेस र एमाले अहिले भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।
Leave a Reply