मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ ।
दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प मर्मत गर्न भन्दै बिहान ९ बजे इनारमा पसेका थिए । साह बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए ।
दुवै लामो समय बाहिर नआएपछि स्थानीय आनन्द लो डोरीको सहाराले इनारमा पसेका थिए । लो पनि इनारको बीच भागमा पुगेपछि बेहोस भएका थिए ।
त्यसपछि होटलका सञ्चालकले प्रहरीलाई खबर गर्नासाथ नेपाली सेनाको टोली घटनास्थल पुगेर इनारमा पसेर हेर्दा दुवैको शव फेला परेको हो ।
बेहोस भएका लोलाई भने उद्धार गरी चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारका लागि पठाइएको मकवानपुर प्रहरीले जनाएको छ । साह र नेपालीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । रासस
Leave a Reply