कैलाली । सुदूरपश्चिममा प्रहरीको जागिर लगाइदिने भन्दै एक प्रहरी सहायक हवल्दारले घुस लिएको घटना सार्वजनिक भएको छ ।
प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरमा कार्यरत प्रहरी सहायक हवल्दार केशवदत्त भट्टले २ लाख घुस लिएको आरोप लागेको हो । डडेल्धुराको जोगबुढाका हवल्दार भट्टमाथि बझाङका बिरेन्द्र धामीबाट पटक–पटक गरेर प्रहरीमा जागिर लगाउने भन्दै २ लाख रुपैयाँ असुली गरेको आरोप छ ।
धामीले दीपायलबाट प्रहरी जवानमा जागिर खान २ लाख रुपैयाँ भट्टलाई बुझाएका हुन । तर उनी पास नभएपछि घटना सार्वजनिक भएको हो । सहायक हवल्दार भट्टले जिल्ला प्रहरी कार्यालय, कैलालीमा कार्यरत हुँदा धामीबाट २ लाख रुपैयाँ विभिन्न मितिमा बुझेको पाइएको छ ।
२०८० चैत २७ गते ६४ हजार ८ र ३५ हजार २ सय गरेर एक लाख धामीले भट्टको नाममा भारतबाट रकम पठाएका छन् । २०८१ वैशाख ९ गते २० हजार, प्रभुमनि ट्रान्सफरबाट १० हजार र अन्य माध्यमबाट ५० हजार १६० गरेर एक लाख थप भट्टको नाममा धामीले पठाइएको पाइएको छ ।
दीपायलबाट आवेदन भर्न लगाएका धामीले प्रहरीमा जागिर खान नसकेपछि रकम फिर्ता मागेका थिए । तर अहिलेसम्म भट्टले ३० हजार रुपैयाँ मात्रै फिर्ता गरेको पीडित धामीको भनाई छ ।
सहायक हवल्दार भट्टले २०८१ भदौ २० गतेको मिति राखेर दिइएको एक लाख ७० हजारको चेक हालसम्म पनि नसाटिएको धामीको गुनासो छ ।
यता, प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरका प्रहरी सहायक हवल्दार भट्टले आफूले रकम लिएको स्वीकार गरेका छन् ।
Leave a Reply