काठमाडौं । नेपाल प्रहरीको उच्च तहको बढुवामा यतीबेला अनेक चलखेल भइरहेका छन्।
केही दिनका लागि एआइजी बढुवा गर्ने खेलले पछिल्लो चार महिनामा चार लट एआइजीको बढुवा भइसकेको छ। फेरि एआइजी बढुवामा अर्को चलखेल भइरहेको छ।
शुक्रबारको मन्त्रिपरिषद्को बैठकले डीआइजीद्वय कुबेर कडायत र रबिन्द्र केसीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। उनीहरुले फुली लगाइसकेका छैनन्।
फुली नलगाउँदै केसीलाई भने राजीनामा लागि दबाब दिन थालिएको छ । अर्का एक डिआइजीलाई बढुवाका लागि यसरी केसीलाई राजीनामा दिन दबाब दिइएको हो।
बढुवाकै बेला रिक्त दुई सिटमा तीन जना प्रतिस्पर्धामा थिए। कुबेर कडायत, रबिन्द्र केसी र जनक भट्टराई बढुवाका दाबेदार थिए। पछि कडायत र केसीको बढुवा गरियो । त्यतीबेला बढुवा भएपछि केसीले राजीनामा दिने र त्यसमा भट्टराईलाई बढुवा गर्ने गोप्य सहमति भएको स्रोत बताउँछ ।
त्यतीबेला बढुवाका लागि केसीले सहमति जनाएपनि अहिले उनले के निर्णय गर्छन् हेर्न बाँकी छ । केसी र भट्टराई एउटै ब्याचका हुन् । उनीहरुले आईजीपी बसन्त कुँवरसँगै आगामी ५ चैतमा अवकाश पाउँदैछन् ।
कार्यसम्पादनमा कमजोर भट्टराई सधैं शक्तिको आडमा आकर्षक पोष्टिङ पाउँदै आएका अधिकृत छन्। हाल कर्णाली प्रदेशको प्रहरी प्रमुखका रुपमा कार्यरत उनले मधेस प्रदेशको समेत नेतृत्व गरिसकेका छन् ।
एसएसपी हुँदा तालिम केन्द्र, उपत्यका ट्राफिक र उपत्यका अपराध अनुसन्धान कार्यालय गरी तीन वटा इन्चार्जबाट अकुत आर्जन गरेको उनीमाथि आरोप लाग्दै आएको छ ।
तर, यो प्रवृत्तिले प्रहरीभित्र कुन तहको अस्वस्थ गतिविधि भइरहेका छ भन्ने प्रष्ट हुन्छ । केही व्यक्तिको सेवा सुविधा बढाउनकै लागि यसरी उच्च तहमा बढुवा गरिएको छ। यो नीतिगत भ्रष्टाचारको चरम रुप भएको प्रहरी अधिकारी बताउँछन् ।
Leave a Reply