काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सुतिरहेको भन्दै एउटा तस्विर बाहिरिएको छ ।
सहकारीको रकम दुरुपयोग गरेको अभियोगमा विगत दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका उनको सुतिरहेको भन्दै शंकास्पद तस्बिर बाहिरिएपछि रास्वपाका नेताहरुले विरोध गरेका छन् ।
लामिछानेका स्वकीय सचिवसमते रहेका पार्टीका सहमहामन्त्री दीपक बोहराले यस विषयमा आपत्ति जनाएका छन् । उनले प्रहरीले कसैलाई पठाउनको लागि लामिछाने सुतिरहेको सीसीटीभीको फुटेज स्क्रिनसट गरेको आरोप लगाए ।
लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्वीर हाल सामाजिक सञ्जालमा भाइरल छ । सार्वजनिक भएको तस्बिरमा लामिछाने हिरासत कोठामा सिरक ओढेर सुतिरहेको देख्न सकिन्छ।
त्यसप्रति आपत्ति जनाउँदै नेता बोहोराले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला।’
गएको मंगलबार लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो । उक्त तस्विरको आधिकारिकताका विषयमा प्रहरीले केही बोलेको छैन ।
Leave a Reply