Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • पोखराका एक दम्पत्ति जसले वडाध्यक्ष पदको दुरूपयोग गर्दै १ हजार ८ प्रतिशतसम्म मिटरब्याज असुले

    पोखराका एक दम्पत्ति जसले वडाध्यक्ष पदको दुरूपयोग गर्दै १ हजार ८ प्रतिशतसम्म मिटरब्याज असुले

    अनलाइन नेपाल
  • बिहिबार, ४ पुष २०८१
  • 318
    SHARES

    पोखरा । पर्यटकीय राजधानी पोखरामा एक दम्पत्तिको अनुचित लेनदेन (मिटरब्याज)का कारण सुन व्यवसायी आतंकित बनेको पाइएको छ । कास्की प्रहरीले मिटरब्याजको धन्दा चलाउने ती दम्पत्तिमध्ये श्रीमतीलाई एक साता अघि नै पक्राउ गरेपनि वडाध्यक्ष रहेका श्रीमान भने अझै फरार छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा मिटरब्याज धन्दा चलाउने सुशिला सिग्देल नाम गरेकी महिलालाई गत बिहिबार पक्राउ गरेको छ । तर, उनका श्रीमान भने अझै फरार छन् ।



    ठगी, आपराधिक लाभ तथा अनुचित लेनदेन कसुरमा जिल्ला अदालत पश्चिम नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि सिग्देलका श्रीमान स्याङ्जाको हरिनाश गाउँपालिका ३ का वडाध्यक्ष ओम प्रकाश सिग्देल फरार भएका हुन् ।



    उनले वडा कार्यालयको जिम्मेवारी नै वडासदस्यलाई दिएर कार्यालयबाट सम्पर्क विहिन भएका हुन् ।

    हरिनाश गाउँपालिकाका अनुसार सिग्देल गत मंसिर २८ गते देखि नै कार्यालयमा आएका छैनन् । उनले कार्यावाहक अध्यक्षको जिम्मेवारी वडासदस्य डिल बहादुर जिटिलाई दिएका छन् ।

    अमर कुमार सुनारले आफू सिग्देलको मिटरब्याजबाट पीडित भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन् ।

    जिल्ला अदालत पश्चिम नवलपरासीको पक्राउ अनुमतिको आधारमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

    वडा प्रहरी कार्यालय वैदामले सिग्देललाई उनकै घरबाट पक्राउ गरेको हो । सिग्देलमाथि पोखराकै सभागृह चोकमा गण्डकी सुनचाँदी पसल संचालन गर्ने अमर सुनारलाई १ हजार दशमलव ८ प्रतिशतसम्म ब्याज लगाएको आरोप लागेको छ ।

    सुनारले सिग्देलसँग ३ करोडको हाराहारीमा रकम लिएको भएपनि आफूले १६ करोड भन्दा बढि बुझाइसकेको बताउँदै आएका छन् । सिग्देल र उनका श्रीमान ओमप्रकाश सिग्देलले उल्टै चेक अनादरको मुद्दा हालेर दुःख दिएपछि बाध्य भएर आफू प्रहरीको शरणमा पुगेको सुनारले बताएका छन् ।

    उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सिग्देल दम्पत्तिविरुद्ध मुद्दा दायर गरेका हुन् । पैसा मात्रै होइन सिग्देल दम्पत्तिले चेक अनादर मुद्दा फिर्ता लिने भन्दै अन्तिममा सुनाको पश्चिम नवलपरासीको करिब ७ करोड ५० लाख मुल्य पर्ने २३ कठ्ठा जग्गा समेत ठगी गरेको अनुसन्धानबाटै खुलेको प्रहरी स्रोत बताउँछ ।

    घटनाको अन्तिम वारदात पश्चिम नवलपरासी परेका कारण सीआईबीले काठमाडौंमा जाहेरी दर्ता गरेर मुद्दा भने पश्चिम नवलपरासीबाट चलाएको छ ।

    २०७३ सालतिर आफ्नो पसलमा आउन थालेकी सिग्देलसँग सोही बेलादेखि नै रकम लेनदेन हुन थालेको सुनारले बताएका छन् । सुनारले सीआईबीमा हालेको जाहेरीमा भनेका छन्–‘सुशिलाले लगानी गर्ने इच्छा देखाएपछि आफ्नै कारखानामा काम गर्ने कालीगढका लागि २५ देखि ३० लाख रुपैयाँ ऋण मागिदिएँ । त्यसपछि शुरु भयो हाम्रो कारोबारको यात्रा ।’

    सिग्देलसँग लिएको ऋण कालीगढहरुले फिर्ता नगरेपछि आफैले तिरेको सुनारले बताएका छन् । सिग्देलसँग ऋण लिएर ब्यापारमा लगानी गरेका सुनार व्यापार खस्किदै गएपछि ब्याज तिर्नै धौ–धौ परेको गुनासो गर्छन ।

    २०७६ सालको कोरोना भाइरसको त्रास र लकडाउनका कारण व्यापार ओरालो लागेपछि आफू सिग्देलको चक्रवर्ती ब्याजको शिकार बन्न पुगेको उनले बताएका छन् ।

    सुनारले सीआईबीमा हालेको जाहेरीमा भनेका छन्–‘आफू ब्यापारमा ओरालो लागेकै बेला सिग्देलको मिटरब्याज आकाशिन थाल्यो । मेरो व्यापार व्यवसायमा थाम्न नसक्नेगरी मन्दी शुरु हुन थाल्यो, तब सुशिलाले मसँग रुखो व्यवहार गर्न थाल्नुभयो भने पछिपछि त ब्याजको दर पनि अनियमिततापूर्वक, अन्धाधुन्द, मनलाग्दी बढाउन थाल्नुभयो । उनले नै हरहिसाब गरेर पठाएको म्यासेन्जरमा ऋणको बार्षिक ब्याजदर ६८ प्रतिशतदेखि १०००.८ प्रतिशत सम्म रहेको छ ।’

    सिग्देलले भनेको समयमा रकम तिर्न नसकेपछि उनले सुनारलाई चेक कटाउन थालिन् । सुनारले पनि सिग्देलले भने अनुसारकै चेक दिन थाले । चेक सँगसँगै उनले ब्याज र साँवा रकम पनि बुझाउँदै गएको बताएका छन् ।

    ‘‘कतिपय बैंकको चेक कटाउँदा ‘खातामा रकम छैन, चेक नलानुस्, चेक लगेर मलाई अफ्ठेरो नपार्नुस्’ भनी अनुरोध गर्दा पनि ‘ग्यारेन्टीको लागि लिएको हो, म तत्काललाई चेक साट्ने र बाउन्स गराउने काम गर्दिनँ, तपाईले सो चेकबमोजिमको नगदै रकम बुझाउनु भयो भने उक्त चेकहरु तपाईलाई नै फिर्ता गरिदिई हाल्छु, पीर नगर्नुस्’ भनी झुठ्ठा आश्वासन दिएर जाने गर्नुहुन्थ्यो ।’’ सुनारले उजुरीमा भनेका छन् ।

    नगदमा रकम लिएर जाँदा पहिले लगेको चेक भने सिग्देलले फिर्ता नगरेको सुनारले प्रहरीसमक्ष बताएका छन् । चेक माग्दा उल्टै मलाई नै थर्काउनु हुन्थ्यो । ‘तपाईको चेक के मैले खाने हो र ? लकरमा थियो, ल्याउन बिर्सेछु, मसँग चेक हुँदा के बिग्रिन्छ र ? तपाईसँग हुनु र मसँग हुनु एउटै कुरा होइन ? मसँग हुँदा पनि केही फरक पर्दैन, चेकहरु लकरमा हुन्छ, पछि सम्झेको बेलामा ल्याइदिन्छु’ भनेर टार्ने गरेको सुनारले गुनासो गरेका छन् ।

    सीआइबीका अनुसार सुनारले सुशिला र उनका पति समेत संलग्न रहेको ओम सुस ट्राभल्सबाट पटक–पटक गरि जम्मा ३ करोड १० लाख ८७ हजार १८ रुपैयाँ लिएको देखिन्छ । तर, सुशिला र उनका श्रीमान ओम प्रकाश सिग्देलले सुनारबाट ६८ प्रतिशतदेखि १ हजार दशमलव ८ प्रतिशतसम्म मिटर ब्याज जोडेर १३ करोड ६७ लाख ६५ हजार ६ सय ४१ रुपैयाँ मिटरब्याज असुली गरेका छन् ।

    तीन करोडको रुपैयाँ लिएकोमा १३ करोड बढी असुलिसक्दा पनि सुनारलाई नियमित धक्की दिंदै रकम असुलिरहेका सिग्देलमाथि प्रहरीले म्याद थप गरेर अनुसन्धान भइरहेको र सिग्देलका श्रीमान ओमप्रकाशलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार