बैतडी । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् ।
डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा तयारी गरिएको छ । मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ । तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको हो ।
झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन् । डुङ्गाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्ट लगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।
Leave a Reply