Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • नयाँ बसपार्कमा ‘टिकट बुकिङ’ खुला

    नयाँ बसपार्कमा ‘टिकट बुकिङ’ खुला

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं। गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो ।

    कोभिड-१९ का कारण १० चैतदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १ असोजदेखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन् ।



    नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रूपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउँछन् ।



    पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बेला ल्होत्से बहुउद्देश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कम्युटर प्रणाली जडान गरी टिकट बुकिङको व्यवस्था मिलाएको हो । यस्तै, अबको केही दिनभित्र नै ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेको छ ।

    प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल यात्रुको सहजताका लागि नयाँ बसपार्कमा अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था मिलाइएको बताउँछन् । ल्होत्से बहुउद्देश्यीय प्रालिले कम्युटर प्रणाली र अनलाइनमार्फत टिकट बुकिङको व्यवस्था शुरु गरेसँगै विभिन्न बस कम्पनीहरु अनलाइन माध्याममा जान शुरु गरेका छन् । आजैदेखि काठमाडौंबाट प्रदेश-१ को ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम र उदयपुर र प्रदेश-२ को सिरहा र सप्तरी जाने ५४ बस कम्पनीले कम्युटर प्रणालीमार्फत अनलाइन टिकट बुकिङ शुरु गरेका हुन् ।

    उक्त ५४ कम्पनी मिलेर बनेको काठमाडौं-पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रुलाई सुरक्षित र भरपर्दो तवरले पूर्व लैजानका लागि विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर तयारी अवस्थामा बसेका छन् । प्रालिका अध्यक्ष श्री श्रेष्ठ कोरोना सङ्क्रमण फैलिन नदिन सामाजिक दूरी कायम गरी अन्तर्राष्ट्रिय स्तरको बससेवा प्रदान गर्नका लागि आफूहरुले अनलाइनमार्फत टिकट बुकिङ खुला गरेको बताउँछन् । अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेपछि यात्रु नठगिने उनको भनाइ छ।

    उक्त प्रालिमार्फत काठमाडौंबाट पूर्वाञ्चल क्षेत्रमा २७५ सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । सो प्रालिमा डिलक्स, एसी र सामान्य बसहरू सञ्चालित छन् । प्रालिका सचिव रुद्रबहादुर कार्की सरकारले तोकेको मापदण्डलाई पूर्ण रुपमा पालना गरेर बस सञ्चालनको तयारी गरेको बताउँछन् । सरकारले एक सिटमा एक यात्रुमात्र राख्न पाउने र ५० प्रतिशत भाडा बढाएर लिनपाउने व्यवस्था मिलाएपनि सो निर्णय व्यवहारिक नभएको उनको भनाइ छ ।

    चालकको लापरवाही तथा बाटोको दूरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन् । उक्त बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर बताउँछन् ।

    सार्वजनिक सवारी साधन फोहर हुँदा भाइरसको सङ्क्रमण दर बढ्ने भन्दै हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाईने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ । रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार