काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी नायव महानिरीक्षकहरूमा डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) रहेका छन् । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर ११ गतेको निर्णयले उनीहरुलाई बढुवा गरेको थियो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
राष्ट्र, जनता र संगठन प्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन गरी आगामी दिनमा समेत उत्कृष्ट जिम्मेवारी निर्वाह हुने गरी सक्रिय भूमिकाको अपेक्षा रहेको उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्याएको सेवाको प्रशंसा गर्दै सपोर्ट समूहले संगठनलाई गतिशीलता प्रदान गर्नुका साथै प्रहरीको काम कारवाही तथा सेवा प्रवाहलाई समेत प्रभावकारी बनाएको उल्लेख गरे ।
पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र विकासमा केन्द्रित रहेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्वास उनले व्यक्त गरे ।
Leave a Reply