काठमाडौं । ललितपुरको भैंसेपाटीमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुलिएको घटनामा ६ जनाविरुद्ध मुद्दा दायर हुँदा चार जनाविरुद्ध भने मुद्दा नचल्ने निर्णय भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले एसपी कलम थापासहित चार जनाविरुद्ध प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । एसपी थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ ।
फरार रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीसहित हवल्दार महेन्द्र हमाल तथा गिरोहका ताज इस्लाम, दर्शन पोखरेल, सुष्मा विक र भिमादेवी थापाविरुद्ध मुद्दा दायर भएको हो ।
प्रहरीले एसपी थापासँग पनि सोधपुछ गरेको थियो । तर, पर्याप्त प्रमाण नभएको भनेर उनलाई जोगाइएको छ ।
अभियोगपत्रमा भनिएको छ,‘प्रतिवादी ताजताजमुल भन्ने ताजम्मुल इस्लामको बयान पोलमा परेका प्रउ कमल थापा, भगवती थापा, अनिषा कार्की र खुशी रसाइली समेतको घटना विवरण कागज मिसिल संलग्न हुन आएको देखिन्छ, निजहरूको संलग्नताको सम्बन्धमा थप प्रमाण खुलि आएका बखत तथा प्रस्तुत कसुर अपराधमा संलग्न अन्य कोही कसैको संलग्नता रहेको भनी खुल्न आएका बखत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ तथा संगठित अपराध निवारण ऐन २०७० को दफा २२ अनुसार थप अभियोगपत्र पेस गरिने ब्यहोरा समेत अनुरोध छ ।’
गिरोहका नाइके रहेका इस्लामले एसपी थापाले नै आफूलाई इन्स्पेक्टर शाहीसँग भेट गराइदिएर त्यसरी पैसा असुल्ने सघाएको बयान दिएका छन् ।
साथै, घटनाकै दिन उनीहरुबीच विमानस्थलको बर्गर हाउस रेष्टुरेन्टमा आधा घण्टा छलफल भएको थियो । जस आधारमा उनी पनि योजनाकार रहेको प्रहरीको छानबिनमा देखिएको थियो ।
तर, चलखेलका आधारमा उनलाई जोगाइएको छ । यद्यपि सरकारी वकिल कार्यालयले उनीमाथि थप अनुसन्धान गर्न लिखित निर्देशन दिएको छ ।
मुद्दा नचल्ने निर्णय भएका अन्य तीन जना ताजले हनि ट्रयापिङमा प्रयोग गर्ने युवतीहरू हुन् ।
Leave a Reply