Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच सहकार्यको सम्झौता

    सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच सहकार्यको सम्झौता

    अनलाइन नेपाल
  • मंगलबार, ४ मंसिर २०८१
  • 90
    SHARES

    धनगढी । धनगढीस्थित सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) र टी-२० नेपाल प्रिमियर लिग लिगमा सहभागी सुदूरपश्चिम रोयल्स क्रिकेट टोलीबीच सम्झौता भएको छ।

    एसपीए कलेजले सुदूरपश्चिम रोयल्स सँग एजुकेसन पार्टनरका रूपमा सहकार्य गर्ने गरी सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत एसपीए कलेजले सुदूरपश्चिम रोयल्सको आधिकारिक शैक्षिक साझेदारको रूपमा काम गर्नेछ ।



    कलेजले आफ्नो शैक्षिक स्रोत र सुविधाहरू प्रयोग गर्दै क्रिकेट खेलाडीहरूलाई शैक्षिक अवसरहरू प्रदान गर्न सहयोग गर्ने लक्ष्य राखेको छ।



    सुदूरपश्चिम रोयल्सले युवा प्रतिभालाई खेलकुद र शिक्षाको क्षेत्रमा एकसाथ अघि बढाउन यो साझेदारीलाई महत्त्वपूर्ण कदमको रूपमा लिएको छ ।

    भने यो साझेदारीले स्थानीय स्तरमा खेलकुद र शिक्षाको विकासलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

    सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको एसपीए कलेज र सुदूरपश्चिम रोयल्सबीच भएको सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षर गरेका छन् ।

    एसपीए कलेजले नेपालमा क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणामा धनगढी प्रिमियर लिग आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो । यसबाहेक एसपीए कपले पनि नेपालको घरेलु क्रिकेटमा ठुलो योगदान दिएको थियो । धनगढीलाई सिटी अफ क्रिकेटको पहिचान दिन एसपीएले निरन्तर मिहिनेत गरिरहेको छ ।

    सम्झौतापछि रोयल्सका मालिक शाहले एसपीएको प्रभाव शिक्षासँगै खेलकुदमा पनि उत्तिकै प्रभावकारी रहेको बताए ।

    ‘एसपीएको नाम शिक्षा क्षेत्रसँगै खेलकुदमा पनि उत्तिकै सुनेका छौँ । हामीले सुदूरपश्चिमको क्रिकेट विकास गर्ने लक्ष्य राख्दा एसपीए कलेज सँग सहकार्य गर्न पाउनु सौभाग्यको कुरा हो । लामो समयदेखि शिक्षा र खेलकुदलाई बढवा दिइरहेको संस्थासँग जोडिन पाउँदा निकै खुसी छ’, शाहले भने ।

    एसपीए कलेजका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे।

    ‘हामी क्रिकेटको माध्यमबाट खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौँ । हामी सबै एक भएर आउँदा लक्ष्य प्राप्तिका लागि थप सहज हुन्छ । हामी सबैले फाप्ला अन्तर्राष्ट्रिय रङ्गशालामा खेल आयोजना गर्ने सपना देखेका छौँ, र हाम्रो सहकार्यले त्यसलाई वास्तविकतामा परिणत गर्नेछ’, शाहीले भने ।

    क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मङ्सिर १५ देखि पुस ६ गते सम्म सञ्चालन हुने एनपिएलमा सुदूरपश्चिम रोयल्सका तर्फबाट मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी, मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन् ।

    यस्तै सुदूरपश्चिम रोयल्सको तर्फबाट दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) ले खेल्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार