काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।
मंगलबार गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।
उनले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, न्यायको प्रत्याभूति दिलाउन र विकासमैत्री वातावरण सिर्जना गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।
गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।
स्थानीय तहको उपनिर्वाचनमा विगतमा सामना गरिएका सुरक्षा चुनौतिहरू तथा जोखिमहरूको बिश्लेषण गरी सुरक्षा योजना निर्माण तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशनसमेत दिए ।
Leave a Reply