काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री लेखक र एसएसबीका महानिर्देशक अमृतमोहनबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बलले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणमा सहकार्य गर्न जोड दिए ।
नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकले बताए ।
नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न उनले आग्रह समेत गरे।
उक्त भेटवार्तामा गृह सचिब गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसादको सहभागी रहेको थियो ।
भेटवार्तामा महानिर्देशकसहित एसएसबीका उच्च स्तरीय अधिकारीको टोली सहभागी थियो ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्च स्तरीय टोली काठमाडौं आएको हो ।
Leave a Reply