Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • तीन एयरलाइन्सले भैरहवाबाट नियमित उडान थाल्दा पोखरा अझै किन चलेन ?

    तीन एयरलाइन्सले भैरहवाबाट नियमित उडान थाल्दा पोखरा अझै किन चलेन ?

    अनलाइन नेपाल
  • शनिबार, २४ कार्तिक २०८१
  • 399
    SHARES

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार एकै दिन तीन एयरलाइन्सले उडान शुरु गरेका छन् । आज दिउसो जजिरा एयरवेज र फ्लाई दुबईले उडान सुरू गरेका छन् भने शनिबार राति नै नेपाल एयरलाइन्सले पनि उडान गर्ने तालिका रहेको छ।

    विमानस्थल सुरू भएदेखि नै उडान थालेको जजिरा एयरलाइन्सले स्थगित गरेको उडान शनिबारदेखि फेरि नियमित थालेको छ। आज १७१ यात्रु लिएर आएको जजिरा एक बालकसहित १६८ यात्रु लिएर उडेको छ।



    जजिराले पुरानै तालिकाअनुसार सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उडान गर्नेछ।



    त्यस्तै शनिबार फ्लाई दुबईले भैरहवामा पहिलो उडान गरेको छ। फ्लाई दुबइको जहाज दिउँसो पौन दुई बजे १७१ यात्रु बोकेर भैरहवा अवतरण गरेको विमानस्थलका सूचना अधिकरी विनोद सिहं रावतले जानकारी दिए।

    जसमध्ये १० जना यात्रु भैरहवामै ओर्लिएको उनले बताए। उनकाअनुसार फ्लाई दुबई ३ बजे भैरहवाबाट काठमाडौं उडेको थियो। यससँगै फ्लाई दुबईले अब हरेक दिन दुबई–भैरहवा–काठमाडौं उडान गर्नेछ।

    नेपाल एयरलाइन्सले पनि आजबाटै काठमाडौँ–भैरहवा–दुबई उडान थाल्दैछ।

    सूचना अधिकारी रावतका अनुसार आज राती १० बजे निगमको जहाज दुबईबाट भैरहवा हुँदै काठमाडौं आउने तालिका छ। निगमले आइतबार, सोमबार र बुधबार यो गन्तव्यमा उडान गर्नेछ।

    यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ।

    भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भए पनि पोखरा विमानस्थलबाट भने अझै अन्तर्राष्ट्रिय उडान शुरु हुन सकेको छैन ।

    दुई वर्षअघि निर्माण पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालन हुन सकेको छैन ।

    सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न यात्रु सेवा, पार्किङ ल्याण्डिङ र नेभिगेसन सेवा शुल्कमा पूर्ण छुट दिनेजस्ता सुविधा दिएर एयरलायन्स कपम्नीलाई आह्वान गरेको थियो । तर भैरहवामा चारवटा कम्पनीले भए पनि उडान सुरु गरे, तर पोखरा भने फाट्टफुट्ट हुने चार्टर्ड उडानमा सीमित छ ।

    नेपाल भ्रमण वर्ष २०२० र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि पोखराले पर्यटनमा छलाङ मार्न सक्ने योजनासहित पोखरामा धेरै व्यवसायीले लगानी गरेका थिए ।

    पोखराको पर्यटन क्षेत्रमा मात्रै ७ खर्ब लगानी भएको र होटल क्षेत्रमा मात्रै ५ खर्ब रुपैयाँ लगानी भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् । तर विमानस्थल नचल्दा व्यवसायी मात्रै होइन पोखरेलीहरु पनि खिन्न छन् ।

    पोखरामा पर्यटकस्तरका १२ सयभन्दा बढी होटल छन् । १५ हजार भन्दा बढीलाई रोजगारी र ४० हजारलाई एक साथ राख्न सक्ने क्षमता पोखरासँग छ ।

    तर, अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखराको सिंगो पर्यटन क्षेत्र निराश रहेको भन्दै पोखरेली व्यवसायीले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँगै गुनासो गरे ।

    चीनको करिब २८ अर्ब ऋण अनुदानमा बनेको विमानस्थलबाट कम्तीमा सरकारी ध्वजाबाहक नेपाल एअरलाइन्सको जहाज भए पनि चलाउन व्यवसायीले माग गरेका छन् ।

    पोखरा विमानस्थल सन् २०२३ को नयाँ वर्षको अवसर पारेर १७ पुस २०७९ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

    तर, अहिलेसम्म डेमोसहित ८ वटा चार्टर्ड उडान र रुकुम पश्चिम तथा जाजरकोट भूकम्प पीडितका लागि केही सहयोग सामग्रीमात्रै पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ ।

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहेको बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि चलाउने उपयुक्त अवसर भएको पोखरेली व्यवायीहरुको भनाई छ

    व्यवसायीहरुको ज्ञापनपत्र बुझेपछि पर्यटनमन्त्री पाण्डेले भने भैरहवा र पोखरा विमानस्थल चलाउन आफूले पूरै पहल गरेको तर एअरलाइन्स कम्पनीहरु पोखराप्रति उत्सुक नदेखिएको बताएर पन्छिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार