काठमाडौं । ६ वटा सहकारीबाट १० अर्ब भन्दा धेरै ठगी गरी फरार रहेका गितेन्द्रबाबु राईलाई विदेश भगाउन सघाउने सहसचिवलाई सरकारले सहकारीसम्बन्धि कानून संशोधन कार्यदलको सदस्य सचिव बनाएको छ ।
सहकारी विभागमा रजिष्ट्रार हुँदा सहकारी ठगीमा नीतिगत चलखेल गर्ने सहसचिव नमराज घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जिम्मेवारी दिएका हुन् ।
बिहीबार सरकारले सचिव फणिन्द्र गौतमको नेतृत्वमा कार्यदल गठन गरेको हो । जसमा अर्थ मन्त्रालयका सहसचिव, राष्ट्र बैंकका निर्देशक र सहकारी विभागका रजिष्ट्रारलाई सदस्य बनाइएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव घिमिरेलाई सदस्य सचिव बनाइएको छ ।
घिमिरे सहकारी विभागको रजिष्ट्रार हुँदा उनको राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेका थिए । जिबी राईविरुद्ध एकपछि अर्को उजुरी परिरहेका बेला त्यसरी नाटकीय रुपमा उनलाई विदेश भगाइएको थियो । सोही कारण अहिलेसम्म सहकारी पीडितले पैसा पाएका छैनन् ।
घिमिरेलाई संसदीय समितिले समेत यस विषयमा सोधपुछ गरेको थियो । साथै, केही सहकारीको उजुरी रोकेर सम्पत्ति बेच्न दिने तथा कार्यक्षेत्र विस्तारको अनुमति दिदा पनि घिमिरेले चलखेल गरेको पाइएको थियो ।
उनैलाई अहिले कानून संशोधनको जिम्मेवारी दिइएको छ । घिमिरे यातायात व्यवस्था विभागमा हुँदा नक्कली लाइसेन्स प्रकरणमा पनि मुछिएका कर्मचारी हुन् ।
Leave a Reply