काठमाडौं । सशस्त्र प्रहरी बल गढीमाई र छिन्नमस्ता बाहिनी अन्तर्गतका गण, गुल्म र बीओपीबाट घुमुवा परिचालन गरी सीमा नाकाबाट तस्करी हुँदैआएको छ । सशस्त्र प्रहरी मुख्यालयको अनुगमनका डीएसपी सुदिप रेग्मी र बागमती प्रदेशको गढीमाई बाहिनीका डीआईजी गणेश ठाडामगरको योजनामा विवादित घुमुवाहरुलाई मधेश प्रदेशमा खटाइएको छ ।
सहायक हवल्दार रोशन मिश्र, सन्तोष यादव, राजीव यादव र जवान इमाम मियाँ ठकुराईलाई तराईका नाकाहरुमा परिचालन गरिएको छ । उनीहरुले तस्करीको सेटिङ मिलाउने र असुल्ने गरेको आरोप छ ।
मियाँ बिरामी बिदा लिएर बिगत ३ महिनादेखि आफ्नै घर बीरगञ्जमा बसिरहेका छन् । खुट्टाको अप्रेसन गरेका मियाँ बिरामी बिदामा छन् । तर उनले बीरगंजमा बसी तस्करीको सेटिङ मिलाउँदैआएको सूचना सशस्त्र मुख्यालय पुगे पनि आईजीपी राजु अर्यालले चासो राखेका छैनन् ।
केही दिनअघि मातातीर्थमा सशस्त्र प्रहरीका निरीक्षकहरुको तालिम समापन कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्रको नयाँ ऐन चालु आर्थिक बर्षको अन्तिमसम्म लागू गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
डीआईजी अभि खत्रीहरुको मुद्दामा सर्वोच्च अदालतबाट नयाँ ऐन बनाउन आदेश भइसकेकाले नयाँ ऐन छिट्टै पारित गर्ने गृहमन्त्री लेखकको भनाइ लागू भएमा राजु अर्याल आगामी २०८२ बैशाख १० गते अवकाश हुनेछन् ।
यदि नयाँ ऐन लागू भएमा आईजीपीको पदावधि ५ महिनामात्र बाँकी रहन्छ । अर्याल सुरुमा जसरी सुशासन कायम गराउन कटिबद्ध भएर एक्सनमा घुमुवा अप्रेसन गरेका थिए, पछिल्ला दिनमा उनको नेतृत्व फितलो देखिएको छ । मधेशका जिल्लामा घुमुवा खटाउने र तस्करीको लाइन चलाउने क्रम बढे पनि आईजीपी अर्यालले खासै चासो देखाएका छैनन् ।
बागमती प्रदेशका डीआईजी ठाडामगर र मुख्यालयका डीएसपी रेग्मीले नै सन्तोष यादव, राजीव यादव र मियाँलाई परिचालन गरेको स्रोत बताउँछ । राजु अर्याल १३ महिना मधेश प्रदेशको डीआईजी हुँदा ठाडामगर एसएसपी थिए ।
अर्यालपछि करिब १८ महिना मधेशको डीआईजी भएका ठाडामगरले मियाँसहितको टोलीलाई घुमुवाका रुपमा परिचालन गरी तस्करीको लाइन चलाएर मासिक लाखौं संकलन गरेको आरोप लागेको थियो । बीरगञ्जदेखि चितवनको सौराहासम्म पुगेका मियाँले ठाडामगरको इशारामा तस्करीको सेटिङ मिलाउने काम गर्दैआएको आरोप छ ।
बीरगञ्ज भन्सार कार्यालय नजिकै पर्ने बीओपी बरैनिया बाराका इन्चार्ज इन्सपेक्टर लक्ष्मण जोशीलाई लिएर मियाँ २०८१ कात्तिक १७ गते साथमा लिएर ५ बजेतिर बीरगञ्ज भन्सार कार्यालयका प्रमुखसँग भेट्न गएका थिए । मियाँले मलाई सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले खटाएको भनेर जोशीलाई भेट गराएका थिए । मियाँको पुरानो घर बारा हो ।
बीरगञ्ज भन्सारको अति नजिक बरैनिया बीओपीका इन्स्पेक्टर जोशीसँग बीरगञ्ज भन्सारका प्रमुखलाई भेट गराइसकेपछि मियाँले भन्सार गुल्मका डीएसपीकोमा लगेका थिए । रात्रिकालीन रमझम गराएर डीएसपी र इन्स्पेक्टरको कुरा मिलाएर मोटरसाइकलमा बरैनियाँ लगेका थिए ।
जोशी यसअघि पेट्रोल पम्पमा थिए । पम्पमा पनि उनको आचरण ठीक नभएपछि आईजीपी अर्यालले सरुवा गरेका थिए । सशस्त्रका शक्तिशाली एसएसपी दीपेन्द्र कुँवरले उनलाई बाराको बरैनियाँ बीओपी सरुवा गरिदिए । उनी यसअघि पनि बाराको सीमा क्षेत्रको बीओपीको इन्चार्ज भइसकेकाले त्यो क्षेत्रको तस्करीको संजालबारे जानकार थिए ।
घुमुवा मियाँले भन्सार प्रमुख र डीएसपीसँग जोशीको भेट गराएर सेटिङ मिलाएको बिषयमा मधेश प्रदेश छिन्नमस्ता बाहिनीका डीआईजी कृष्ण धौबजीले खबर नै नपाएको स्रोत बताउँछ । मधेश प्रदेश अन्तर्गतका गण, गुल्म र बीओपीका इन्चार्जले घुमुवा परिचालन गरी तस्करहरुबाट अर्थसंकलन गर्दा पनि डीआईजी कार्यालयले त्यसलाई रोक्न नसकेको स्रोत बताउँछ ।
खेलाडीका रुपमा सशस्त्रमा प्रवेश गरेका मियाँलाई सशस्त्रका पूर्वआईजीपी शैलेन्द्र खनालले घुमुवाका रुपमा तराईमा असुलीका लागि खटाएका थिए ।
तराईमा घुमुवा भएपछि तस्करसँग मिलेर खनालदेखि ठाडामगरसम्मलाई बुझाएर मियाँले बीरगञ्जमा घरदेखि ३ वटा घडेरी सासुका नाममा खरिद गरेको आरोप छ । अख्तियारबाट बच्न उनले सम्पत्ति सासुका नाममा राखेको स्रोत बताउँछ । इलाम सरुवा भएका उनी एक दिन पनि हाजिर हुन गएका छैनन् ।
आईजीपी अर्यालले पद सम्हाल्नासाथ ३ सय घुमुवा अप्रेसन गर्दा महोत्तरीबाट २० नम्बर गणमा तानिएका सहायक हवल्दार सन्तोष यादव र राजीव यादव समेत मधेश प्रदेशमा अनुगमनमा खटाउने काम अनुगमनका डीएसपी सुदिप रेग्मीले गरेका छन् ।
पशुपति मन्दिरको सुरक्षार्थ राखिएको बेसमा दरबन्दी राखेर डीएसपी रेग्मीले विवादमा परी तानिएका घुमुवालाई नै मधेशमा खटाउने गरेका छन् । अनुगमनका डीएसपीदेखि पशुपति मन्दिरको बेस र बागमतीका डीआईजी ठाडामगरलाई समेत ती विवादित घुमुवाले नजराना बुझाउने गरेको स्रोत बताउँछ ।
सहायक हवल्दार रोशन मिश्र घुमुवा अप्रेसनमा एक महिनाअघि झापा सरुवा भएका थिए । तर, झापामा हाजिर भए पनि उनी सर्लाहीमै तैनाथ छन् । उनी समेत ठाडामगरकै योजनामा तस्करीको लाइन मिलाउन तल्लीन रहेको बताइन्छ ।
बदनाम घुमुवा परिचालनबारे सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले अनलाइन नेपालसँग भने–‘घुमुवा परिचालन गर्ने संगठनको नीति छैन । सादा पोशाक लगाए पनि घुमुवाका रुपमा खटाएको भनेर बदनाम गर्ने गरिएको छ । खुल्ला सीमा छन्, कमीकमजोरी भएका होलान् । कहिलेकाहीँ आवश्यकताका आधारमा सादा पोशामा खटिएका हुनसक्छन् । सूचनाका लागि खटाउनुपर्ने पनि हुनसक्छ ।’
तर सूचना संकलनका नाममा अन्य सशस्त्र प्रहरी नै नभएजस्तो विवादित र सधैं उही ब्यक्ति किन खटिन्छन् ? भन्ने प्रश्न पनि सीमा क्षेत्रका स्थानीयले उठाउँदैआएका छन् ।
Leave a Reply