एजेन्सी । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई आइतबार २५ रनले पराजित गरेको छ ।
मुम्बईको वानखडे स्टेडियममा जितका लागि १ सय ४७ रन पछ्याएको भारत १ सय २१ रनमै समेटिएको हो ।
तीन टेस्टको शृंखलामा न्युजिल्यान्ड ३–० ले विजयी रह्यो । तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषव पन्तलाई छाडेर अरू केही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । उनले ६४ रन बनाए ।
यस्तै दोहोरो अंक छुने अन्य ब्याटरमा कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन बनाए । पूरा घरेलु टिम २९.१ ओभर मात्रै टिकेको थियो ।
पाहुना बलरमध्ये एजाज पटेलले ५७ रनमा छ विकेट लिए । यस्तै ग्लेन फिलिप्सले तीन र म्याट हेनरीले एक विकेट लिए ।
न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएपछि भारतले जवाफमा २ सय ६३ रन बनाएको थियो ।
न्युजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो । सन् २००० यता घरेलु शृंखलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो।
Leave a Reply