Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पूर्व उपप्रधान एवं गृहमन्त्रीको तिहार प्रहरी हिरासतमै !

    पूर्व उपप्रधान एवं गृहमन्त्रीको तिहार प्रहरी हिरासतमै !

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 264
    SHARES

    काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा पुर्याइएको छ ।



    रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।



    तर, पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति लामिछाने तिहारसम्म रिहा नहुने भएका छन् ।

    रविका सम्बन्धमा कास्की जिल्ला अदालतले थप गरेको म्याद बिहीबारदेखि नै गणना हुनेछ । ७ दिनको म्याद पाएको प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्नेछ ।

    कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने देखिएको हो । तिहार बिदापछि कात्तिक २० गतेमात्र सरकारी कार्यालय खुल्ने छ ।

    त्यसैले प्रहरीले रविलाई कात्तिक २० मामात्र अदालतमा उपस्थित गराउने छ । त्यतिबेला फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । त्यतिबेला अदालतले तिहार बिदासमेत गणना हुने गरी म्याद थपबारे निर्णय गर्नेछ ।

    त्यसो त, तिहार बिदामा रवि लामिछानेका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनसमेत दायर गर्न सकिन्छ । बन्दी प्रत्यक्षीकरणको रिट भने पर्व बिदामा समेत अदालतले हेर्ने छ ।

    तर, सोही मुद्दामा यसअघि छविलाल जोशीको हकमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन नै खारेज गरिदिएको हुँदा रवि भने उम्किन पाउने अवस्था छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार