काठमाडाैँ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको छ ।
खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटोरी एजेन्सी’ (एमएचआरए) को सिफारिसमा बेलायतमा परीक्षण पुनः सुरु गरिएको अक्सफोर्डले जनाएको हो । खोप परीक्षणमा सहभागी एक जना महिला स्वयंसेवकमा सन्देहपूर्ण प्रतिकूल प्रतिक्रिया देखिएपछि गत मंगलबार खोपको अन्तिम क्लिनिकल परीक्षण स्थगित गरिएको थियो । यो स्थगन लम्बिन सक्ने चिन्ताबीच पुनः सुरु गरिएको हो ।
परीक्षणका क्रममा उक्त खोप विश्वभर करिब १८ हजार जनालाई दिइसकिएको छ । खोप परीक्षणमा सहभागी हजारौंमध्ये कोही बिरामी हुनु सामान्य भए पनि प्रत्येक सहभागीको सुरक्षालाई ध्यानपूर्वक मूल्यांकन गरिने अक्सफोर्डको विज्ञप्तिमा उल्लेख छ । गत साता अस्ट्राजेनेकाले ‘एउटा व्याख्या गर्न नसकिने बिमार’ का कारण अन्तिम क्लिनिकल परीक्षणमा ’नियमित’ बिराम गरिएको जनाएको थियो ।
अक्सफोर्डले ती स्वयंसेवकमा के समस्या देखिएको थियो औपचारिक रूपमा सार्वजनिक गरेको छैन । तर न्युयोर्क टाइम्सले ती स्वयंसेवकमा मेरुदण्डको नसा सुनिने ‘ट्रान्सभर्स मिलिटिस’ देखिएको जनाएको थियो । भाइरल संक्रमणका कारण हुने उक्त बिमारीले मानिसको मेरुदण्डमा असर पुर्याउन सक्ने विश्वास गरिन्छ ।
बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले परीक्षण पुनः सुरु हुनु स्वागतयोग्य र सबैका लागि खुसीको कुरा भएको ट्वीट गरेका छन् । मन्त्री ह्यानककले खोप परीक्षण स्थगितले बेलायत सुरक्षालाई जहिल्यै पहिलो प्राथमिकतामा राख्छ भन्ने देखाएको टिप्पणी गर्दै प्रभावकारी र सुरक्षित खोज जतिसक्दो छिटो उपलब्ध गराउन आफ्ना वैज्ञानिकहरूलाई सहयोग गर्ने पनि बताएका छन् ।
उक्त खोपको अन्तिम अर्थात् तेस्रो परीक्षणको नतिजा कस्तो आउँछ भनेर संसारभरि नै निकै उत्सुकताका साथ हेरिएको छ । उक्त खोपको तेस्रो परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी झन्डै ३० हजार व्यक्ति सहभागी भइरहेका छन् ।
अक्सफोर्ड र अस्ट्राजेनेकाले तेस्रो चरणमा विश्वभर ५० हजार जनासम्म सहभागी हुने अपेक्षा गरेका छन् । यस अतिरिक्त उक्त परीक्षण जापान र रुसमा समेत विस्तार गरिने कम्पनीको भनाइ छ । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भए/नभएको जाँचिन्छ र यो प्रक्रिया धेरै वर्ष जान सक्छ ।
संसारभरि विकास गरिँदै रहेका झन्डै दर्जन खोपमध्ये अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपप्रति सबैको भरोसा छ । ऊसँग बेलायत, अस्ट्रेलिया, अमेरिका, युरोपियन युनियनलगायतले करोडौं डोज किन्न प्रारम्भिक सम्झौता भइसकेको छ । बेलायतले विभिन्न कम्पनीसँग ३४ करोड डोज किन्ने सम्झौता गरेमध्ये अस्ट्राजेनेकासँग मात्र १० करोड लिने बताएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हाल विश्वमा करिब १ सय ८० वटा खोप परीक्षण जारी छ । तर, अहिलेसम्म कुनैले पनि मान्यता पाएका छैनन् । बेलायतका एक जना वरिष्ठ वैज्ञानिकले ९ महिनाभित्र कोभिड खोप बेलायतमा उपलब्ध हुने आशा व्यक्त गरेका छन् । सरकारको वैज्ञानिक समूह सेजका सल्लाहकार प्राध्यापक पिटर ओपेनसअले अक्सफोर्डको खोप परीक्षण पुनः सुरु हुने खबरपछि आशाका धेरै सम्भावना रहेको टिप्पणी गरे । तर, पिटरसहित अन्य वैज्ञानिकहरूले यो जाडोयाममा आउने सम्भावना रहेको कोरोना संक्रमणको दोस्रो लहरका लागि भने खोप उपलब्ध हुन नसक्ने बताएका छन् । यो खोप विश्वका सबै देशमा सहज उपलब्ध हुन भने सम्भव नरहेको उनको धारणा छ ।
स्ट्राजेनेका प्रमुख कार्यकारी पास्कल सोरायटले गत बिहीबार परीक्षण छिटो सुरु भए यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुतिर खोप आउन सम्भव रहेको बताएका थिए । नियामक निकायले कति चाँडो खोप अनुमोदन गर्छन्, त्यसमा पनि निर्भर रहने उनको धारणा थियो ।
कोभिडविरुद्धको खोप विकासका लागि अहिले विश्वभर प्रयास भइरहेका छन् । संयुक्त राज्य अमेरिकाले खोप बजारमा ल्याउने प्रयत्नमा अहिलेसम्म १० बिलियन डलर लगानी गरिसकेको छ । अमेरिकाले गत २१ मेमा अस्ट्राजेनेकालाई १.२ बिलियन डलर दिने घोषणा गरेको थियो । खोप सुरक्षित र प्रभावकारी भए अमेरिकाले त्योबापत कम्तीमा ३ सय मिलियन खोप लिनेछ ।
खोपको अनुसन्धानदेखि बजारमा उपलब्ध हुन सामान्यतः ५ देखि १० वर्ष लाग्न सक्ने भए पनि कोभिड खोप केही महिनाभित्रै ल्याउने प्रयासमा वैज्ञानिकहरू छन् । अहिले औषधि उत्पादक कम्पनी तथा सरकारहरू बिलियन डलर खर्चको जोखिम लिइरहेका छन् । विश्व स्वास्थ्य संगठनले यस वर्षको अन्त्यतिर खोपले मान्यता पाउने र सर्वत्र उपलब्ध हुन कम्तीमा सन् २०२१ को मध्यसम्म लाग्ने विश्वास गरेको छ । रुसले आफूले विकास गरेको ‘स्पुतिनक–५’ नामक कोभिड खोपले बिरामीमा प्रतिरोधात्मक क्षमता विकास गरेको र अक्टोबरमा जनमानसमा दिन सुरु गरिने बताएको छ । उता चीनले खोप सफलतापूर्वक विकास गरी हाल सैनिकमा उपलब्ध भइरहेको जनाएको छ । तर, ती दुवै देशले यति छिटो विकास गरेका खोपको प्रभावकारिताबारे भने जिज्ञासा उठेको छ ।
उता, खोप विकासमा अग्रपंक्तिमा रहेका अमेरिकी कम्पनी फाइजर र जर्मनी बायोएनटेकले शनिबार ४४ हजार जनालाई अन्तरदेशीय परीक्षणमा सहभागी गराउने घोषणा गरेको फाइनान्सियल टाइम्सले जनाएको छ । ती कम्पनीले ३० हजार जनाको प्रारम्भिक परीक्षण लक्ष्य आगामी साता पुग्ने बताएका छन् । अहिले मेडोर्ना, भल्नेभा, नोभाभ्याक्स, सानोफी पास्चर्स, जीएसकेजस्ता कम्पनी पनि कोभिड खोप विकासमा अग्रपंक्तिमा छन् । कान्तिपुर दैनिकमा नवीन पोखरेलले खबर लेखेका छन् ।
Leave a Reply