Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • पर्साका विभिन्न नाकाहरुबाट तस्करी बढ्यो

    पर्साका विभिन्न नाकाहरुबाट तस्करी बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, २७ असोज २०८१
  • 468
    SHARES

    फाइल तस्विर

    पर्सा । पर्साका विभिन्न नाकाहरुबाट तस्करी बढेको केही घटनाहरुले देखाएको छ । आइतबार र बिहीबार जगरनाथपुरमा लाग्ने पशु हार्ट बजारका लागि भारतको सीमावर्ती गाउँ इनर्वा हुँदै जानकीटोला र पाण्डेपुर नाकाबाट  राँगाभैसी तस्करी भएसँगै प्रहरीमाथि नै शंका उब्जिएको हो ।

    एमाले नेता जालिम मियाँको कान्छो छोरा जफिर मियाँको संरक्षणमा उनको छोरा जफिरले सञ्चालन गर्दै आएको भैँसी बजारमा तस्करीको राँगाभैंसी खरिद बिक्री हुँदै आएको आरोप लागेको छ ।



    यस्तै, सेटिङमा धोरे नाकाबाट कपडा तस्करीको लाइन पाउनेहरूमा फुलकवल निवासी सरफदेव यादव, अशोक साह, जितेन्द्र साह र गमहरिया निवासी आलम रहेको समाचार स्रोतले बताएको छ ।



    प्रहरीसँग बलियो सेटिङ गरेर उनीहरूले असोज २१ गते सोमबार देखि ठूलो मात्रामा कपडाको तस्करी  गरेका छन् । दैनिक पचास लाख भन्दा बढीको कपडा उनीहरूले प्रहरी सेटिङमा भन्सार छली तस्करी गरिरहेको स्रोतको दाबी छ ।

    यति मात्र हैन, धोरे नाकाबाट पाउडर दूध, काजु किराना समान र किराना समान भित्रै बारुदजन्य पटाका, हार्डवेयर र कपडा राखेर तस्करी गर्ने दर्जनभन्दा बढी साना ठुला तस्करहरू काम गरिरहेका छन् ।

    यस्तै, वीरगन्ज छपकैया नाकाबाट वीरगंजका नामुद तस्कर जितु कपडा, बबन कपडा, ध्रुप कपडा, श्याम काजु, पशुपति काजु, गम्भिरा काजु, हरिन्द्र पटेल, आकाश, रामबाबु  मन्जु काजु लगायतका तस्कर समूहहरूले दैनिक ५० लाख भन्दा बढीको मालसामान तस्करीको माध्यमबाट आयात गर्दै आएका छन् ।

    रातीको समयमा दर्जनौँ महिला भरिया, मोटरसाइकल, ई–रिक्सा लगायतको माध्यमबाट तस्करी गरिरहेका छन् । वीरगंजको आदर्श नगरमा सञ्चालन रहेको दर्जनौँ ट्रान्सपोर्टहरुबाट पनि प्रहरीले असुली गर्दै आएको छ ।

    अलौ नाकाबाट अनिल र गाजानन्द कपडा र हार्डवेयर, जाटाधारी काजु र गुटका तस्करी

    यस्तै अर्को नाका प्रसौनीभाठ्ठा नाकाबाट भारतीय ब्रान्डका पाउडर दूध, काजु र किराना आइटमको तस्कर रमेश सहित ५ जनाको समूह र गर्दौल निवासी शहनी थरका व्यक्तिले मासिक मोटो रकम बुझाएर तस्करी गर्दै आएका छन् ।

    सेटिङमा अजय, प्रकाश, र रवीन्द्र गुप्ताले पनि किराना समानको तस्करी गरिरहेका छन् । राँगाभैसीको तस्करी पनि चलिरहेको स्रोतको भनाई छ ।

    प्रसौनीभाठ्ठा गाउँमा प्रहरीकै संरक्षणमा ५ वटा घरेलु मदिरा भठी पनि सञ्चालनमा रहेको स्थानीय स्रोतबाट जानकारी प्राप्त भएको छ ।

    यस्तै, प्रहरीले तस्करहरूलाई अपत्यारिलो ढंगमा सहजीकरण गरिदिएपछि दिनभर तस्करीका सामान प्रसौनीभाठ्ठा गाउँमा भण्डारण गरेर राति पिकअपमा लोड गरी नेपालका विभिन्न ठाउँमा पठाउने काम भइरहेको छ ।

    जब अरू साँझ परेपछि सुत्ने तरखर गर्छन् , त्यसपछि तस्करहरू पिकअप गाडी लिएर पुग्छन् र लोड गरी पठाउन थाल्छन् । नजिकका प्रहरी कार्यालयहरू नदेखे झैँ गर्छन् ।

    यस्तै अर्को नाका अमरपटीबाट सन्दिपले युनिलिभरका क्लजपपेस्ट, फेयरलवली लगायतका कष्टमेटिक समान, मुना, भोला र भुलन कपडा, सुनिल राजनिवास र रजनीगन्धा, बिनय हार्डवेयर, बिगा र संजय कबाड , भुवन यादव दुहिने भैँसी, टुना अमरदेव छोटेलाल र पिन्टु धान गहुँको तस्करी गर्ने गरेका छन् ।

    प्रहरीले अमरपटीका मुना, ईन्दल, राजकुमार र जिउतसंग रकम बुझेर अवैध घरेलु मदिरा भठी सञ्चालन गर्न छुट दिएका छन् । मुना भने  भारतीय नागरिक हुन र उनको अमरपटीमा सबै भन्दा ठुलो भठी रहेको छ ।

    यस्तै, अमरपटी नाकाबाट कुखुराको चल्ला पनि तस्करी भइरहेको समाचार स्रोतको छ । मोटरसाइकल, साइकल र पैदल भरिया मार्फत रातारात कुखुराको चल्ला तस्करी भइरहँदा प्रहरीले नियन्त्रण गरेको छैन। प्रहरीले कुखुराको चल्ला तस्करी गर्ने गिरोहबाट मासिक नजराना बुझेर छुट दिएको आरोप छ।

    सबैठवाबाट कपडा, जुता चप्पल तस्करी

    अमरपटी, प्रसौनीभाठ्ठा, धोरे,सबैठवा, जानकीटोला लगायतका सिमानाकाबाट प्रहरी प्रशासनले तस्करीका लागि मौखिक लाइसेन्स बाँडे झैँ लाइन क्लियर गरिदिएपछि तस्करहरूले खुलेआम दिनदहाडै भन्सार छलेर अवैध रूपमा भारतीय सामान तस्करी गरी पर्साका ग्रामीण बजार पोखरिया, केहुनिया, महुवन बजार, विश्रामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रंगपुर, परवानीपुर र जीतपुरलगायतका ठाउँमा सञ्चालनमा रहेका पसलमा दिने गरेका छन् ।

    भारतसँग जोडिएको पर्साको ग्रामीण बजारका अधिकांश पसलहरूमा ९० प्रतिशत चोरी तस्करीबाट भित्रिएका भारतीय सामान बेचबिखन हुने गरेको छ ।

    तर सम्बन्धित निकायको यस्तो गम्भीर विषयमा सामान्य ध्यान पुग्न नसकेर हो या ‘आकर्षक महिनावारी’को मोहले हो, सबै ‘तैँ चुप–मै चुप’मा देखिन्छन् । नेपाल प्रहरीको सेटिङमा तस्करी हुँदा संगठनकै बदनाम भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार