Online Nepal
  • आइतबार, २० असोज २०८१
  • हनि ट्रयापिङ प्रकरण : यस्तो छ दरबारमार्ग वृत्तदेखि भैंसेपाटी प्रभागसम्मको कनेक्सन

    हनि ट्रयापिङ प्रकरण : यस्तो छ दरबारमार्ग वृत्तदेखि भैंसेपाटी प्रभागसम्मको कनेक्सन

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने समूह पेशेवर देखिएको छ।

    प्रहरीकै अधिकारीदेखि विभिन्न व्यक्तिहरुसँग मिलेर उनीहरुले युवतीहरू परिचालन गरी विगतमा पनि यसैगरी पैसा असुलिएको भेटिएको छ ।



    भैंसेपाटी प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले मोरङका एक जग्गा व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ असुलेका थिए ।



    सो समूहले अन्य व्यक्तिलाई पनि भैंसेपाटी प्रभागमा थुनामा राखेर सोही शैलीमा पैसा असुलेको सूचना प्रहरीले पाएको छ । तर, पीडितहरु अझै खुलेका छैनन् ।

    त्यसअघि काठमाडौंको दरबारमार्ग वृत्तमा भएको घटना भने पुष्टि नै भइसकेको छ । हाल थुनामा रहेका सुनसरीका ताज इस्लामको समूहले दोलखाका ठेकदार तथा एमाले नेता विदुर शर्मालाई गत जेठमा फसाएको थियो ।

    एक युवती परिचालन गरी शर्माविरुद्ध जर्बजस्ती करणीको जाहेरी दिन लगाइएको थियो । जून घटना १६ लाख रुपैयाँमा लेनदेन गरेर मिलापत्र गरी पछि जाहेरी फिर्ता लिन प्रहरीमा निवेदन दिएको समेत छानविनमा खुलिसकेको छ ।

    इस्लामकै नबील बैंकमा रहेको खाता नम्बर ११९१००१७५०३२५५ मा सो रकम जम्मा भएको थियो । दोलखा नै घर भएका मिटरब्याजी गणेश उप्रेतीसँग मिलेर शर्मालाई त्यसबेला फसाएका थिए ।

    जसकारण उप्रेती समेत यो घटनामा तानिने सम्भावना छ । शर्मालाई फसाउनका लागि उप्रेतीलाई गिरोहका नाइके इस्लामलाई टोयोटा कोरला गाडी समेत दिएका थिए । स्रोतका अनुसार बी एए ०३९८ नम्बरको गाडी दिइएको थियो ।

    हालै मात्र त्यो गाडी उप्रेतीले फिर्ता लिएका छन् । मिटरब्याज लगायत अपराधमा उप्रेती विगतमा पक्राउ परेका आपराधिक पृष्ठभुमीका व्यक्ति हुन् ।

    दरबारमार्ग वृत्तको घटनामा प्रहरीको भूमिका प्रष्ट भइसकेको छैन , भैंसेपाटीको प्रकरणमा भने पुष्टि नै भइसकेको छ । हाल निलम्बनमा रहेकी इन्सपेक्टर शाही मात्र होइन एक एसपीको समेत त्यसमा शंकास्पद भूमिका देखिएको छ ।

    तर, गिरोहका नाइके ताज इस्लामको मोबाइल गायब बनाएर एसपीलाई जोगाउने प्रयास भइरहेको छ । सो मोबाइल इन्सपेक्टर शाही आफैंले गायब बनाएकी हुन् । तर, उनलाई ललितपुर प्रहरीले अझै नियन्त्रणमा नलिदा छानविन तथा अनुसन्धान रोक्न उनले चलखेल गरिरहेकी छिन् ।

    प्रहरीकै अधिकारीहरु यो केस मिलाउन सक्रियताका साथ लागेका छन् । हेडक्वाटरमै कार्यरत अर्का एक एसपीले पीडितलाई हायत होटलमा भेटेर इन्सपेक्टर लगायत अन्य प्रहरीको विषयमा केही नबोल्न आग्रह गरेको बताइएको छ ।

    हाल ललितपुर परिसरले डिएसपी नरहरी अधिकारीको नेतृत्वमा छानविन गरिरहेको छ । तर, माथिल्लो तहका प्रहरीको समेत भूमिका देखिएपछि प्रहरी प्रधान कार्यालयबाटै समेत थप छानविन गराउने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको तयारी छ ।

    डिएसपी नेतृत्वको समितिले केही दिनमै प्रतिवेदन बुझाउने तयारी गरेको छ । हाल ललितपुर परिसरले गिरोहका नाइके इस्लामसहित सुष्मा विक, भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । इटहरीकी थापाको एभरेष्ट बैंकमा रहेको खातामा पीडितलाई २० लाख जम्मा गर्न लगाइएको थियो ।

    एक पटक १३ र अर्कोपटक सात लाख गरेर २० लाख जम्मा गरिएको थियो । थप १० लाखको चेक दिइएकोमा सो चेक समेत इन्सपेक्टर शाहीले अझै लुकाएकी छिन् । त्यस बाहेक पनि इन्सपेक्टरले मिलापत्र गरिदिएवापत छुट्टै पैसा लिएको सूचना प्रहरीले पाएको छ ।

    ललितपुर प्रहरीका अनुसार इस्लामले ५–६ जना सुन्दर युवतीहरु परिचालन गर्दै आएका छन् । ती युवतीहरुलाई धनाढ्यहरुसँग नजिक हुन लगाउने, घुम्न पठाउने र पछि बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरीसँग मिलेर पैसा असुल्ने धन्दा गर्दै आएका छन् ।

    कतिपयलाई भने पैसा भन्दा प्रतिशोधका लागि पनि फसाउने गरेको समेत खुलेको छ । एक पत्रकारलाई समेत उनीहरुले फसाउने तयारी गरिरहेको ललितपुर परिसरको अनुसन्धानमा खुलेको छ ।

    विदुर शर्मालाई फसाउने युवती प्रयोग गरी ती पत्रकारलाई महिनौंदेखि फसाउने प्रयास गरेपनि असफल भएको पाइएको छ ।

    गिरोह पेशेवर देखिएपछि छानविन समितिको प्रतिवेदनपछि यसमा संलग्नलाई संगठित अपराधको कसुरमा समेत मुद्दा चलाउने प्रहरी तयारी छ ।

    तर, छानविन नै प्रभावित पार्न माथिल्लो तहका प्रहरी अधिकारी सक्रिय भएपछि कतै दोषीहरु उम्कने त होइन भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार