निरोज चौलागाई/ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेताहरुकै संरक्षणमा मात्र नभई जिल्ला समन्वय समितिका प्रमुखकै मिलेमतोमा नदीजन्य पदार्थको तस्करी भइरहेको खबर सार्वजनिक भए । त्यति मात्र होइन, राजश्व छलि गरेको विलबिजक पनि सार्वजनिक भयो ।
तैपनि सम्वन्धित निकायको ध्यान तस्करी रोक्नमा नगएको स्थानियबासीको आरोप छ ।
प्रहरीले समाउँदै जिल्ला समन्वय समितिलाई बुझाउने तर समितिले बालुवा तस्करहरुलाई फर्जी कागजात तयार पारेर छाड्दै आएका विभिन्न समाचार माध्याममा खबर प्रकाशित भएता पनि छानविन हुन सकेको छैन ।
समितिले उपप्रमुख बालकुमारी सापकोटाको संयोजकत्वमा अनुगमन समिति बनाएको छ । तर उक्त समितिले कुनै काम नै गर्न सकेको छैन । हप्तैपिच्छे अनुगमन हुन्छ तर के(को अनुगमन हुन्छ रु कसैलाई जानकारी हुन्न ।
अनुगमन भइरहँदा पनि बालुवा तस्करीमा कुनै कमि नआएको स्थानियको भनाई छ ।
सरकारले हरेक बर्ष असारदेखि भदौको अन्तिम दिनसम्म नदीबाट नदीजन्य पदार्थ निकाल्न रोक लगाएको छ । तर सिन्धुपाल्चोक जिल्लाका नदी तथा खोलाहरुबाट भने खुलेआम नदीजन्य पदार्थ (बालुवा, गिट्टी, रोडा, ढुंगा) निकाल्ने काम भइरहेको प्रष्ट देखिन्छ ।
बाह्रबिसे नगरपालिका वडा नम्बर-६ स्थित अरनिको राजमार्गमा तस्करहरुले अवैध रुपमा लिकालेको बालुवा राजमार्गकै डिलमा डम्पिङ गरेर राखेका छन् । प्रहरी प्रशासनदेखि सरकारी निकायका जिम्मेवार ब्यक्ती सोही बाटो भएर दैनिक ओहोर-दोहोर गरिरहेका छन् ।
तर यसरी भइरहेको तस्करीमा उनीहरुलाई कुनै चासो छैन । सम्वन्धित निकाय पनि कानमा तेल हालेर सुतिरहेको देखिन्छ । भोटेकोशी नदीमा भइरहेको बालुवा तस्करीमा ईलाका प्रहरी कार्यालय बाह्रविसे र बाह्रविसे नगरपालिकाको संरक्षण रहेको स्थानियको आरोप छ ।
तर केहीदिन पहिले आएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रमुख एसपी राजन अधिकारीले निगरानी बढाएको र प्रहरीले भेटेको खण्डमा पक्राउ गरेर जिल्ला समन्वय समितिलाई बुझाउने गरेको जानकारी दिए ।
उनले आफ्नो मातहतका प्रहरीहरुको बालुवा तस्करीमा सहयोगी भूमिका देखिए कारबाही गर्ने पनि बताए । बालुवा तस्करी नियन्त्रणमा भन्दा अहिलेको अवस्थामा अन्य धेरै महत्वपूर्ण काममा दिनरात खटिनुपर्ने बाध्यता भएकोले त्यता ध्यान पुग्न नसकेको उनको भनाई छ ।
के भन्छ कानुन?
प्रदेश सरकारबाट स्वीकृत नदीजन्य पदार्थ उत्खनन् कार्यबिधि २०७५ अनुसार असार, साउन र भदौ महिनामा दिनको समय (बिहान ६ साँझ ६ बजे भित्र)नदीजन्य पदार्थ उत्खननमा स्काभेटरको प्रयोग भएमा १ लाख र रातको समय (साँझ ६ देखि विहान ६ बजेसम्म) मा प्रयोग भएको पाइएमा २ लाख जरिवाना गरिने उल्लेख छ ।
अबैध रुपमा निकासी गरिएको नदिजन्य पदार्थ बोकेको पाइएमा ट्रिपरलाई ३० हजार, मिनि ट्रिपरलाई २० हजार र ट्रयाक्टरलाई १५ हजार जरिवाना तिराइने उल्लेख छ । साथै राति वसारपसारमा संलग्न भएको पाइए, त्यसको दोब्बर जरिवाना लाग्नेछ ।
सार्थ यसरी निकाले पाइए कानुनअनुसार कैद र जरिवाना समेत गराउने र तस्करीमा प्रयोग हुने हुने मेसिन, स्काभेटर, डोजर वा अन्य कुनै पनि औजार जफत गर्ने गरिन्छ । तर सिन्धुपाल्चोकमा भने प्रहरीले पक्राउ गरेर समितिलाई बुझाउँदा पनि छाड्ने गरिएको छ ।
Leave a Reply