काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणको फाइल ‘मुद्दा नचल्ने’ निर्णय गर्दै तामेलीमा पठाएको खुलेको छ । स्रोतका अनुसार केही महिनाअघि नै अख्तियारले फाइल बन्द गरी तामेलीमा राख्ने निर्णय गरेको हो । ‘त्यो फाइल तामेलीमा राख्ने निर्णय भएको दुई महिनाभन्दा बढी भइसक्यो,’ स्रोतले भन्यो ।
कोरोना संक्रमणको जोखिमका कारण मुलुक सबैतिर ठप्प भएका बेला अख्तियारले चुपचाप निर्णय गरेर फाइल तामेलीमा पठाएको हो । अख्तियारले फाइल तामेलीमा गएको निर्णयबारे कुनै विवरण सार्वजनिक गरेको थिएन । बिहीबार एकाएक अख्तियारले निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राख्दै छ भन्ने हल्ला फैलिएको थियो । आइतबारदेखि उमेर हदका कारण अवकाश लिन लागेका अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले बिहीबार आयोगको बैठक डाकेका थिए । त्यही विषयबारे प्रतिक्रिया दिँदै अख्तियार स्रोतले निकै अघि गुपचुप रूपमा फाइल तामेलीमा पठाइएको खुलाएको हो ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले आफूलाई कुनै निश्चित फाइलबारे थाहा नहुने प्रतिक्रिया दिए । ‘आयोगले निर्णय गरेको विषय थाहा हुने हो,’ अधिकारीले कान्तिपुरसित भने, ‘कोरोना संक्रमणको जोखिमका कारण हामी पालैपालो कार्यालय जाने गरेका छौं, बुधबारसम्मको विषय जानकारीमा छैन । बिहीबार म गएको थिइनँ ।’
पर्याप्त प्रमाणसहित दर्ता भएको भ्रष्टाचारको उजुरीमा संलग्न व्यक्तिहरूलाई जोगाउनुपरे लामो समयसम्म ‘फाइल अनुसन्धानमा छ’ भनी प्रतिक्रिया दिने र कालान्तरमा त्यो विषय नै ओझेलमा परेपछि तामेलीमा राख्ने अख्तियारको शैली छ । लोकमानसिंह कार्की नेतृत्वमा रहेका बेला अख्तियारले अखिल नेपाल फुटबल संघका तत्कालीन अध्यक्ष गणेश थापाको उजुरीमा यही शैली अपनाएको थियो । ‘आयल निगमको जग्गा काण्ड पनि त्यही हो,’ अख्तियार स्रोतले भन्यो, ‘मुद्दा चल्ने प्रमाणसहित तयार भएको फाइलसमेत तामेलीमा गयो ।’कान्तिपुर दैनिकबाट
Leave a Reply