काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला दलका व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेको बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले ठूला भनिएका दलको नेतृत्व तहकै व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेको बताए।
नेता खनालले भने,‘आखिर कहाँ बगेर गयो त्यत्रो विपुल बजेटको लगानी ? किन मुठ्ठीभरका माथिल्ला वर्गका भ्रष्टाचारी, तस्कर, कालाबजारी र दलाल पुँजीपतिहरू मात्र करोडपतिबाट अरबपति खरबपति बन्दै गइरहेका छन ? यो देशका ठूला हौ भन्ने पार्टीका नेतृत्व पंक्तिका व्यक्तिहरू कसरी काण्डै काण्डका माला भिरेर हिँडिरहेका छन् ?’
नेता खनालले जनता महँगीको मारमा पिल्सिनुपरेको,युवा र विद्यार्थीहरू विदेश जान बाध्य भएकादेखि एउटै पार्टीले दुई तिहाई बहुमत पाउँदासम्म काम गर्न नसकेकोबारे ठूला भनिएका दलहरूलाई प्रश्न गरे।
संविधानको भाग ४ मा उल्लिखित कामहरूलाई मात्रै ठीक ढंगले लागू गरेको भएपनि देश अघि बढ्ने उनको भनाइ छ।
नेता खनालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिदै गएको र राष्ट्रियता माथिको संकट पनि चर्को बनिरहेको बताए।
Leave a Reply