Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • उद्योग मन्त्रीले गरे आफ्नै पीएको सरुवा, सरुवा बढुवामा चलखेल गरेको आरोप

    उद्योग मन्त्रीले गरे आफ्नै पीएको सरुवा, सरुवा बढुवामा चलखेल गरेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 966
    SHARES

    काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीका निजी सचिव विवेक घिमिरेले सरुवा भएको २४ घण्टामै मन्त्रालय छाड्नुपरेको छ ।

    कुनै पनि कर्मचारीले सरुवा भएको २१ दिनमा रमाना लिनुपर्ने प्रावधान छ । तर घिमिरेको हकमा भने सरुवा भएको २४ घण्टामै रमाना लिएर सरुवा भएको कार्यालयमा हाजिर गर्नुपर्ने अवस्था आएको छ ।



    उपसचिव घिमिरे अघिल्लो पटक भण्डारी उद्योगमन्त्री हुँदा उद्योग मन्त्रालय छिरेका हुन् । मन्त्रालय छिर्ने बित्तिकै मन्त्री भण्डारीले उनलाई निजी सचिवमा नियुक्त गरेका थिए । पद निजी सचिवको भए पनि छायाँमन्त्रीकै जस्तो गरी काम गर्न थालेपछि उनको विरोध शुरु भएको थियो ।



    सचिवालयका कर्मचारीले नै उनलाई निजी सचिवबाट हटाउन दबाव दिइरहेका थिए । तर भण्डारीको बाध्यता पार्टी अध्यक्ष केपी शर्मा ओलीकै दबावमा नियुक्त गरिएको हुँदा भण्डारीको पहिलो कार्यकालमा घिमिरेलाई मन्त्रीले हटाउन सकेनन् ।

    तर, उनको बारेमा अनेकथरि चर्चा परिचर्चा भएपछि अहिले मन्त्री भण्डारीले सरुवा भएको २४ घण्टाभित्रै रमाना लिनेगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गराएका छन् ।

    निजी सचिवमा बसेर उद्योग विभाग, कम्पनी रजिष्टार कार्यालय, बाणिज्य विभागका महत्वपूर्ण शाखामा आफूनिकट कर्मचारीलाई सरुवा गरी लगेको, औद्योगिक प्रवर्द्धन बोर्डको बैठकको एजेन्डामा चलखेल गरेको, मन्त्रालयका महाशाखा प्रमुखहरुलाई आफू अनुकुलको मात्रै काम गराएको सचिवद्वयलाई मन्त्रीको निर्देशन विपरीतको काम गर्न निर्देशन दिएकोलगायतका विषय तारन्तर उठ्न थालेपछि घिमिरे खेदिनु परेको हो ।

    उनले मन्त्रालय एकलौटी रुपमा चलाउन थालेपछि बाध्य भएर सरुवामा परेका हुन् । संघीय मामिला मन्त्री राजकुमार गुप्तालाई फोन सम्पर्क गरी मन्त्री भण्डारीले आफ्ना निजी सचिव घिमिरेलाई २४ घण्टाभित्रै सामान्यमा हाजिर गर्ने गरी सरुवा गर्नका लागि अनुरोध गरेका थिए ।

    सोही अनुरोध बमोजिम गुप्ताले उनलाई सरुवा गरेर २४ घण्टाभित्रै सामान्य प्रशासन मन्त्रालयमा हाजिर गराएका थिए । सामान्यमा हाजिर गरेका घिमिरे अहिले मन्त्रलायको महत्वपूर्ण दमदार शाखा माग्ने, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको शाखा प्रमुख हुने अभियानमा छन् ।

    उक्त शाखाले सातवटै प्रदेश र ७५३ वटै पालिकामा स्थानीय शासनसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र सो कार्यक्रम सञ्चालनका लागि शाखामा पर्याप्त बजेट भएका कारण घिमिरेको नजर त्यतातिर सोझिएको हो ।

    यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सचिवालयमा काम गरेका घिमिरे सोही विगत भजाएर भण्डारीको सचिवालयमा प्रवेश गरेका थिए । उनी आफूलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालनिकट भएको भन्न रुचाउँछन् ।

    बालकोटको रवाफमा मन्त्रालयमा रजगज गरेका घिमिरेको अनायास सामान्यमा सरुवा भएपछि उद्योग विभागका उपसचिव सरोज पोखरेललाई छटपटी भएको छ । पोखरेल घिमिरेकै जोडबलमा उद्योग विभाग छिरेका हुन् ।

    त्यसैगरी घिमिरेकै नाता पर्ने लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रकी उपसचिव विष्णु भट्टराईलाई पनि छटपटी भएको छ । केन्द्रमा सहसचिवको दरबन्दी भएको र सो पदमा दिपक घिमिरे रहँदारहँदै विवेककै जोडबलमा दीपकलाई मन्त्रलाय सरुवा गरेर भट्टराईलाई केन्द्रको निमित्त प्रमुख बनाइएको थियो ।

    विवेक हिँडेसँगै विष्णुको पनि छटपटी बढेको छ । सरोजलाई त आफ्नै सहकर्मीमात्रै होइन विभाग भित्र्याउने अभिभावक विवेकको सरुवा भएको पीडा त छँदैछ यही बेला आफ्नै नाता कुटुम्बका कम्पनी रजिष्टर कार्यालयका उपसचिव वर्तराज पौडेलको मन्त्रालयमा सरुवा भएकाले अर्को झड्का पनि सहनुपरेको छ ।

    वर्तराजलाई मन्त्रालयमा महत्वपूर्ण शाखा दिलाउनका लागि उनले निजी सचिव आनन्द भट्टलाई हारगुहार गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार