काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले महिला भलिबल टोलीलाई शुभकामनासहित बिदाई गरेका छन् ।
आईजीपी कुँवरले माल्दिभ्समा हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामनासहित विदा गरेका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच आईजीपी कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई बिदाई गरे ।
उक्त टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको बताए ।
देशको खेलकुद विकासमा नेपाल प्रहरीले पुर्याएको योगदान उल्लेखनीय रहेको उनको भनाई छ ।
नेपाल प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धीहरूले नेपाल प्रहरीमा सशक्त बनेको आईजीपी कुँवरले बताए ।
अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टी गर्न थप अवसर प्रदान गर्ने आईजीपी कुँवरले बताए।
आईजीपी कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडीहरूलाई शुभकामना समेत दिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
Leave a Reply