Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस-एमालेको हेपाहा प्रवृतिले सुदूरपश्चिम पछाडी पर्‍यो, एकताबद्ध भएर संघर्ष गरौँ : सांसद भाट

    कांग्रेस-एमालेको हेपाहा प्रवृतिले सुदूरपश्चिम पछाडी पर्‍यो, एकताबद्ध भएर संघर्ष गरौँ : सांसद भाट

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 606
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले सुदूरपश्चिमको विकासका लागि एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका भाटले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिमको विकासका लागि दलिय राजनीतिमा बिभाजित भएर नभइ एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताएका हुन् ।



    सरकारले देशका सातवटा प्रदेशमध्ये सुदूरपश्चिम बाहेक ६ वटामा सरकारी मेडिकल कलेज सञ्चालनमा ल्याएको छ । मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि भव्य संरचना निर्माण गरिएका छन् । तर यहाँ सरकारी बेवास्ताका कारण मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन ।



    प्रदेशको विकास र स्वास्थ सेवामा सुधारका लागि संघर्षको आवश्यकता आज झन् बढी देखिएको छ । अहिले सुदूरपश्चिम प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा नआएपछि जनस्तरमा चर्को आक्रोश बढेको छ ।

    यही प्रसंगमा प्रदेशसभा सदस्य भाटले पनि देशमा दुई तिहाईको सरकार रहेको भए पनि सुदूरपश्चिमलाई पर्नुपर्ने विकासे ध्यान ओझेलमा परेको बताए ।

    ‘दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, जो गेटा, कैलालीमा निर्माणाधीन छ, यसैको उदाहरण हो। विश्वविद्यालय निर्माणका लागि आवश्यक विधेयक अहिले पनि संसदमा विचाराधीन छ, तर यसअघि पनि जस्तै भवनहरूमा ताला लाग्ने सम्भावना छ,’ उनले भने ।

    उनले थपे,’देशका अन्य छवटा प्रदेशमा एमबीबीएस अध्ययन सुरु भएको छ। तर, जहाँ मुलुककै पहिलो स्वास्थ विश्वविद्यालय बन्दैछ, त्यहाँ स्वास्थ्य सेवा क्षेत्रको सुधार रोकिएको छ। कांग्रेस र एमालेजस्ता ठूला दलहरूको दृष्टिकोण सुदूरपश्चिमप्रति समान देखिन्छ, जसका कारण सुदूरपश्चिमले अपेक्षित विकास प्राप्त गर्न सकेको छैन।’

    उनले सुदूरपश्चिममा रहेका ठूला परियोजनाहरूलाई गति दिने काम माओवादीको नेतृत्वमा बनेका सरकारले मात्र गरेको दाबी गरे ।

    उनले भने, ‘उदाहरणका रूपमा, सुदूरपश्चिम विश्वविद्यालयको घोषणा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा २०६५ फागुन १६ गते भएको थियो । त्यस्तै, दोधाराचाँदनी सुख्खा बन्दरगाहको योजना २०६८ सालमा माओवादी नेतृत्वको सरकारले अगाडि बढाएको थियो। खुटिया–दिपायल फास्ट ट्र्याक, सेती लोकमार्ग, महाकाली करिडोर, र अन्य परियोजनाहरू पनि माओवादीको नेतृत्वमा मात्रै अघि बढ्न सकेका छन्।’

    यो प्रदेशले हालसम्म १० पटक प्रधानमन्त्री पद पाएको छ, तर विकासको गति र अवस्था दयनीय छ । सुदूरपश्चिमको विकासलाई एमाले र कांग्रेसजस्ता ठूला दलहरूले उपेक्षा गरेको इतिहास छ ।

    हालै मात्र, गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रुपान्तरण गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पुग्न सफल भएको छ ।

    यो पनि प्रचण्ड प्रधानमन्त्री भएका कारण मात्र सम्भव भएको उनले बताए । ‘त्यसकारण सुपको विकासकालागी दलिय राजनीतिमा बिभाजित भएर होइन एकताबद्ध भएर संघर्ष गरौं । सहिलाई सहि भन्ने आँट गरौं,’ उनले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार