Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • एउटै नम्बर प्लेटका पाँचवटा मोटरसाइकल भेटिएपछि…

    एउटै नम्बर प्लेटका पाँचवटा मोटरसाइकल भेटिएपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँचवटा मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सीसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो ।



    खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो ।



    मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यवानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सीसीको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वकराज खड्काले जानकारी दिए । कार्यालयले आज घटना विवरणसहित आरोपीलाई सार्वजनिक गरेको छ ।

    उक्त मोटरसाइकलको वास्तविक नम्बर वाग्मती प्रदेश ०२–०४७ प १९७५ रहेको र काठमाडौंस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो । रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।

    सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकलसमेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि उक्त मोटरसाइकल पनि छाउनीबाट नियन्त्रणमा लिइएको हो ।

    अनुसन्धानका क्रममा वास्तविक नम्बर वाग्मती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तमकुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

    थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

    थप अनुसन्धान गर्दै जाँदा करिब एक महिना अगाडि से ७ प ८५६२ नम्बर प्लेट भएको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारिएको थियो । वास्तविक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएका थिए ।

    थप सूचनाका आधारमा नियन्त्रणमा लिइएको वास्तविक नम्बर से ७ प ८५६२ भएको भन्सार पठाइएकोमा उक्त मोटरसाइकल आरोपी खत्रीको रहेको तथ्य खुलेको छ । उनले उक्त मोटरसाइकलको वास्तविक कागजात प्रयोग गरी अन्य मोटरसाइकल समेत त्यही नम्बर राखेर प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार