काठमाडौं । एक महिनाअघि सत्ताच्युत भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा नेतृत्वको विकल्पको बहस प्रारम्भ भएको छ ।
२०४२ सालदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको उक्त पार्टीमा करिब चार दशकपछि विकल्पको खोजीका लागि बहस शुरू भएको हो।
माओवादी केन्द्रमा सर्वशक्तिमान मानिएका पूर्वप्रधानमन्त्री प्रचण्डको अगाडि नतमस्तक हुने पदाधिकारीसहितका नेताहरूको स्वभाव यो पटकको स्थायी समिति बैठकमा परिवर्तित देखियो ।
जारी बैठकमा आइतबार उपमहासचिव जनार्दन शर्माले पार्टीमा नयाँ नेतृत्वबारे लिखित प्रस्ताव अघि सारेर बहसमा ल्याए । उनले पार्टीको नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका थिए ।
अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरू संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव रहेको एक पदाधिकारीले बताए ।
तर, अधिकांश नेताहरूले यसलाई बाहिर ल्याउन चाहेका छैनन्। पार्टी महासचिव देव गुरुङले नेतृत्वको विकल्पमा छलफल भएको विषयमा आफूलाई जानकारी नभएको बताए । नेपाल समाचारपत्रबाट
Leave a Reply